देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

हरितालिका तिज आज, शिवालयहरुमा भक्तजनहरुको घुईचो

देशान्तर

काठमाडौं । आज हिन्दु नारीहरुको पर्व हरितालिका तीज । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तिज पर्व आज उमा महेश्वरको पूजाराधना गरी मनाइँदैछ ।

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । यो व्रत गर्ने पुरुषले विदुर हुनु नपर्ने तथा नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न वर वा वधु पाउने मान्यता छ ।

सत्ययुगमा हिमालयपुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्रीमहादेव पति पाउने कामना गरेकी थिइन् भन्ने मान्यता छ । संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई शब्द मिलेर हरितालिका शब्द बनेको छ जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले बताउँनु भएको छ ।

व्रत बस्नेले आफ्नो क्षमतानुसार पानी, कन्दमूल (सखरखण्ड, पिँडालु आदि), फलफूल, दूध, हवनीय वस्तु, श्रोत्रीय ब्राह्मणले खान हुने चिज, गुरुको वचनानुसारका खानेकुरा र औषधि गरी आठ कुरा खान हुने शास्त्रीय मान्यता छ । श्रीमानको दीर्घायुको कामनाका लागि मात्र तीजको व्रत बसिने भनेर गलत प्रचार भइरहेको पनि गौतमले बताउनुभयो ।

नारीले परिवारको अभिभावकका रूपमा प्रतिनिधित्व गरी व्रत बस्ने भएकाले नसकेका अवस्थामा अथवा रजस्वला भएका बेलामा पुरुषले पनि व्रत बस्ने गरेका छन् । यस अर्थमा अहिले केही नारीवादीले उठाएजस्तो विभेदकारी व्रत परम्परा पनि तीज नभएको धर्मशास्त्रविद्को भनाई छ ।

समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि व्रतको प्रयोजन रहेकोे धर्मशास्त्रीको मत छ । आत्मावादी र ईश्वरवादी दुवैले यो व्रत लिने गरेका छन् । समग्रमा परिवारको यस लोकमा सुख, शान्ति र पारलौकिक सद्गतिका लागि तिजको व्रतको महत्व छ ।
व्रत सकाम, निष्काम, नित्य, नैमित्तिक, र काम्य गरी पाँच किसिमका छन् ।

तिजको व्रत नित्य र काम्य दुवै खालको भएको गौतमले बताए । तीजको व्रत हिन्दू मात्रका लागि नभई मानव मात्रका लागि भएको धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । तिजको अवसरमा पशुपतिनाथसहित देशभरका शिव मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ ।

हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको आज बिहानैदेखि भीड लागेको छ । दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान तीन बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको छ ।

मन्दिरका चार ढोका बेलुकी आठ बजेसम्म खुला गरिनेछ । रातो, हरियो र पहेँलो पहिरनमा सजिएका महिला भक्तजनको पशुपति क्षेत्रमा अत्यधिक भीड लागेको छ ।

पूजा एवं दर्शन गर्न आउने भक्तजनका लागि तीन मार्गको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए । मित्रपार्क–गौरीघाट–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्रवेश गरी रुद्रगाडेश्वर नयाँ फलामे भ¥याङ हुँदै कैलाश दक्षिण जुत्ता चप्पल कक्षबाट फर्कने व्यवस्था मिलाइएको छ ।

भक्तजन लाममा बसेको आधा घण्टादेखि एक घण्टामा मूल मन्दिर प्रवेश गरी भगवान् उमामहेश्वरको दर्शन गरेर फर्कन सक्ने व्यवस्था मिलाइएको छ ।

त्यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका (तीज)का अवसरमा सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रुपमा रहेको भन्दै शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले सन्देशमा नेपाली नारीको महान् पर्व हरितालिका तीजको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीमा पारिवारिक सुख, शान्ति, समृद्धि एवं सामाजिक एकता र सद्भाव कायम होस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।

यता प्रधानमन्त्री केपी शर्मा ओलीले पनि हरितालिका तीजको अवससमा नेपाली दिदिबहिनीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि सम्पूर्ण नेपाली दिदिबहिनीहरुको हरितालिका तीजको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

देउवाले तीजले सबैलाई एकताको सूत्रमा आबद्ध गरी विविधताबीच एकता, समन्वय, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पु¥याइरहेको पनि शुभकामना सन्देश मार्फत बताउनुभएको छ ।