देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पत्रकार राजु बस्नेतलाई तत्काल रिहा गर्न कांग्रेसको माग

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले खोजतलास साप्ताहिकका सम्पादक राजु बस्नेतलाई तत्काल रिहा गर्न माग गर्दै प्रेसमाथिको हस्तक्षेप तत्काल बन्द गर्न सरकारलाई सचेत गराएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गर्दै पत्रकार राजु वस्नेतलाई तत्काल रिहा गर्न माग गरेका हुन । साथै प्रेसमाथिको हस्तक्षेप तत्काल बन्द गर्न पनि सरकारलाई सचेत गराएका छन् ।

‘पत्रकार राजु वस्नेत माथिको आपत्तिजनक व्यवहारलाई हामीले गम्भीरतापूर्वक लिएका छौं’, विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले जारी मुलुकी संहितामा रहेका कतिपय प्रेस स्वतन्त्रतालाई असर पुग्ने प्रावधानहरु संशोधन गर्ने प्रकृया अघि बढाई सिद्धान्त एवं व्यवहारत दुवै ढंगले स्वतन्त्र प्रेसको अक्षुणता कायम राख्ने दिशामा अग्रसरताका लागि अपिल समेत गरेको छ
‘प्रकाशित कुनै समाचार या साभार गरिएको विषयवस्तुप्रति व्यक्ति, संस्था वा राज्य कसैको पनि विमति हुँदा त्यसलाई खण्डन गर्ने गराउने निश्चित विधि–प्रक्रिया आजको लोकतान्त्रिक प्रणालीले सुनिश्चित गरेको छ । तर केही समय यता राज्यसंयन्त्रनै मिडियाप्रति असहिष्णु ढंगले प्रस्तुत भइरहँदा त्यसले लोकतान्त्रिक सत्ता र संस्कृतिको होइन “अधिनायकवाद उन्मुख” प्रवृत्तिको श्रृंखलालाइ पुष्टि गर्दै गएको छ’, शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘हामी राज्यको सार्वजनिक जवाफ चाहन्छौं – संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रताको बिम्व के कलमजिविका हातामा हतकडी हो ? द्वन्द्वकालमा यो या त्यो पक्षबाट पत्रकारहरु प्रताडित भएको घटनाको तितो स्मृति हामी सबै थरीको मानसपटलमा जिवित छ । तर बदलिएको परिस्थितिमा पनि पत्रकारहरुले निरन्तर पीडा भोग्नु परेको चित्र दुखद त छ नै अत्यन्तै गम्भिर पनि छ ।’

खोजतलास डटकममा प्रकाशित दृष्टि साप्ताहिकको एक समाचारको विषयमा प्रहरीले उक्त अनलाइनका प्रधान सम्पादक राजु बस्नेतलाई पक्राउ गरेको थियो ।