देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

निर्मला हत्या प्रकरण : डीआईजी धिरु बस्न्यातको नेतृत्वमा समिति गठन

देशान्तर

काठमाडौं । निर्मला हत्याकाण्डमा प्रहरी अनुसन्धानमा संलग्न सबै प्रहरी अधिकारी र तल्लो तहका सदस्यको संलग्नताबारे छानबिन गर्न डिआइजी धिरु बस्न्यातको नेतृत्वमा समिति गठन गरिएको छ । डिआइजी बस्न्यात केही दिन अघिमात्रै एआइजीको बढुवाका लागि सिफारिस भएका थिए । टोलीमा बस्न्यातसँगै एसएसपी उत्तमकुमार सुवेदी, निरज शाहीलगायत ९ जना रहेका छन् । प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले भने, ‘‘पुरानै टोलीको दायरा फराकिलो पारिएको हो । यसले अनुसन्धानमा संलग्न सबै प्रहरी अधिकारीको भूमिकाको अध्ययन गर्नेछ ।’’ यसअघि भदौ १४ गते एसएसपी उत्तम सुवेदीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको थियो ।

गृह मन्त्रालयले अनुसन्धानमा संग्लन ५ जना प्रहरी अधिकृतलाई शनिबारमात्रै निलम्बन गरेपछि प्रहरी प्रधान कार्यालयले घटनालाई गम्भीरतापूर्वक लिएको बताइन्छ । नयाँ टोलीले अनुसन्धानमा संलग्न निलम्बनमा परेका र अन्य प्रहरीलाई काठमाडौं झिकाएर बयान लिने र भूमिकाबारे अध्ययन सुरु गरिएको प्रवक्ता थापाले बताए । निर्मला बलात्कार र हत्यामा संग्लन भन्दै मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरिएका दिलिपसिंह विष्टको डिएनए नमिलेपछि प्रहरी अधिकारीको भूमिका शंकास्पद बनेको थियो ।

नक्कली अभियुक्तको रुपमा दिलिपलाई सार्वजनिक गरेपछि कञ्चनपुरमा आन्दोलन चर्किएको थियो । गृह मन्त्रालयले शनिबार केन्द्रीय अनुसन्धान व्युरोबाट खटिएका डिएसपी अंगुर जिसी, कञ्चनपुर प्रहरीका तत्कालीन डिएसपी ज्ञानबहादुर सेटी, वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्सपेक्टर जगदीश भट्ट, कञ्चनपुर प्रहरीका अनुसन्धान अधिकृत इन्सपेक्टर एकेन्द्र खड्का र अस्थायी प्रहरी चौकी सालघारीका सई रामसिंह धामी निलम्बन गरेको हो । कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट भने यसअघि नै निलम्बनमा परिसकेका थिए ।