देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ग्यास ढुवानी शूल्क बढाउन व्यवसायीको माग, आपूर्ति अवरोध गर्ने चेतावनी

देशान्तर

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले खाना पकाउने ग्यासको ढुवानी शूल्क बढाउन माग गरेका छन् । हाल कायम रहेको मूल्यले ढुवानी गर्न नसकिने बताउँदै उनीहरूले ढुवानी शूल्क एक तिहाइले बढाउन माग गरेका हुन् ।

व्यवसायीले भारतबाट आयात गर्ने ग्यासको ढुवानी मूल्य नेपाल आयल निगमले दिन्छ । हाल व्यवसायीले बरौनीसहित भारतीय आयल निगमका विभिन्न चार वटा रिफाइनरीबाट ग्यास आयात गर्दै आएका छन् । ती सबै रिफाइनरीबाट ढुवानी गर्दा हाल दिइँदै आएको शूल्क वृद्धि गर्न संघले माग गरेको हो । उदाहरणका लागि हाल बरौनीबाट काठमाडौंसम्म ग्यास ढुवानी गर्दा प्रतिसिलिण्डर ८७ रुपैयाँका दरले निगमले व्यावसायीलाई ढुवानी मूल्य दिन्छ । अरु विन्दुबाट आयात गर्दा फरक – फरक शूल्क कायम गरिएको छ ।

संघले उक्त ढुवानीको भर्पाइ करिब एक तिहाइ बढाउन माग गरेको छ । यसका लागि सबै बिन्दूबाट आयात गर्दा औसतमा प्रतिसिलिण्डर करिब २८ रुपैयाँ वृद्धि गर्न माग गरेको छ । हाल नेपाली व्यवसायीले भारतीय नम्बर प्लेटका बुलेटबाट ग्यास ढुवानी गर्दै आएका छन् । ‘भारतीय ढुवानीकर्ताले हालको शूल्कमा ग्यास ढुवानी गर्न नसकिने भनेका छन्,’ संघका अध्यक्ष गोकुल भण्डारीले भने ।

संघका निवर्तमान अध्यक्ष शिव घिमिरेले विगत ६ वर्षयता ढुवानी शूल्क वृद्धि नगरिएको बताए । ‘२०६९ सालमा ढुवानी मूल्य कायम गर्दा भारतमा पेट्रोलको प्रतिलिटर मूल्य ५८ भारुको हाराहारीमा थियो, अहिले ८० पुगेको छ,’ उनले भने, ‘यति लामो अवधिसम्म सबै क्षेत्रमा मूल्यवृद्धि भएको सोही अनुरुप ढुवानी शूल्क पनि बढाउनुपर्छ ।’ ढुवानी शूल्क वृद्धि नगरे ग्यास आपूर्तिमै अवरोध आउने चेतावनी संघले दिएको छ ।