देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

निर्मलाका दिदीबहिनी भन्छन्, ‘उसकै याद आउँछ’

देशान्तर

‘पाक्याका किरमणा पहाडका वन भरि पाक्याका किरमणा

मेरी बहिनी निर्मला कैले न्याय पाइन्या हो कि मेरी बहिनी निर्मला

अभोकाल भै दियो खाउँ खाउँ लाउँ लाउँ भन्या बेला अभोकाल भै दियो

पापीले लै दियो स्कुल पढन्या बेला पापीले लै दियो’

बलात्कारपछि हत्या गरिएकी बहिनी निर्मलाको सम्झनामा दिदी मनीषाले रचना गरेको गीतको अंश हो यो । सुदूरपश्चिमी भाकामा लेखिएको यो गीतमा बहिनीसँगको बिछोडिएको पीडा र उनका हत्यारालाई कारबाही हुनुपर्ने भाव झल्किन्छ । गीतमार्फत बहिनी निर्मलाले कहिले न्याय पाउला भन्ने उल्लेख गरेकी छन् । खाने, लाउने र स्कुल पढ्ने समयमा कुन पापीले बीभत्स तवरले हत्या गरेको पीडा मनीषाले गीतमा पोखेकी छन् ।

‘रुन्छे आँसु झारी जन्म दिने मेरी आमा रुन्छे आँसु झारी

त्यो लिखु (उखु) कि बारी तेरो काल बन्नलाई लाइछ त्यो लिखु कि बारी यो पचहत्तर साल तु खिलाई दुस्मन भयो यो पचहत्तर साल

लैयो पापी काल आँखाभरि सपना तेरा लैयो पापी काल’

‘बैनीको यादले हरदम सताइरहन्छ, जतिबेला पनि उ नै देखिन्छे’ मनीषाले भनिन्, ‘बहिनीका हत्यारा छिट्टै पक्राउ परुन् ।’

जन्म दिने आमा आँसु झारेर रोइरहेकी छ । त्यो लिखु (उखु) बारी तेरो काल बनेर आयो भन्ने शब्द गीतमा पोखिएका छन् । ‘०७५ साल बैनीकै लागि दुस्मन भएर आएको रहेछ’, गीतमार्फत उनले भनिन्, ‘पापी कालले आँखामा सजाएर राखेका सबै सपना लगेर गइदियो ।’

घटना भएको ५३ दिन बितिसक्दासमेत निर्मलाका हत्यारा पक्राउ पर्न सकेका छैनन् । बुवाआमा न्यायका लागि काठमाडौं छन् । घरमा कान्छी आमासँगै सानी बहिनी छे ! निर्मला नहुँदा घरै सुनसान देखिन्छ । उनीहरू कहिले निर्मलाका हत्यारा पक्राउ पर्लान् र सजाय होला भनेर कुरिबसेका छन् । ‘खाना खाने बेला होस् वा स्कुल पढ्न जाँदा, घरमा होमवर्क गर्ने बेलासमेत झलझली निर्मला नै देखिन्छे’ दिदी मनीषाले भनिन्, ‘ऊमाथि घटेको घटनाले दिमाग नै खलबलिएको छ, रातभर निद्रै लाग्दैन, उसको यादले सताइरहन्छ ।’

घर, स्कुल र सबै ठाउँ निर्मलाको अभावमा सुनसान लाग्ने गरेको उनी सुनाउँछिन् । उनी मात्र होइन, कान्छी बहिनी सरस्वतीलाई पनि हरदम दिदीकै यादले सताइरहन्छ । ‘साह्रै माया गथ्र्यो दिदीले’ उनले भनिन्, ‘दिदीबिना यो घर नै सुनसान भएको छ, खाने, खेल्ने र पढ्ने बेला उसकै झल्को आउँछ ।’

तीन दिदीबहिनी उमेरका हिसाबले २÷२ वर्षका मात्रै फरक हुन् । जेठी मनीषा १५ वर्ष, माइली निर्मला १३ वर्ष र कान्छी सरस्वती ११ वर्षका छन् । ‘तीनै दिदीबहिनी साह्रै मिल्थे, कहिल्यै झैझगडा गरेनन्, सबै जिम्मेवार हुन्’, कान्छीआमा लक्ष्मीले भनिन्, ‘निर्मलामाथि घटेको घटनाले दुई छोरीलाई पीडा दिइरहेको छ ।’

तीनै जना छोरीलाई चटपटे बेचेर हुर्काएकी थिइन्, आमा दुर्गादेवी पन्तले । अहिले त्यो चटपटे बेच्ने काम पनि बन्द छ । साउन १० गते चटपटेको पसल खुले पनि त्यसदिन पछि बन्द भएको छ । त्यही चटपटे बेचेर घर खर्च चलाउने निर्मलाको परिवार अहिले छोरीको न्यायका लागि लडिरहेको छ ।

‘यस्तो घटना कहिले पनि सुनेका थिएनौं, आज आएर आफ्नै बहिनीमाथि भयो’, मनीषाले भनिन्, ‘जीवनमा कहिल्यै भुल्न नसकिने ठूलो पीडा पापीले दिए ।’ उनले ती पापीले सजाय नपाएसम्म निर्मलाको आत्माले शान्ति नपाउने बताइन् । पढाइ। लेखाइमा समेत निकै अब्बल आफ्नी बहिनीलाई बीभत्स तरिकाले हत्या गरिएको भन्दै मनीषाले सरकारले छिटो कानुनी कठघरामा ल्याउनुपर्ने बताइन् ।

बहिनीका हत्यारा पक्राउ गर्न सरकार उदासीन रहेको उनले बताइन् । ‘बहिनीलाई मार्ने पापी जो भए पनि छिटो कारबाही होस्’, उनले भनिन्, ‘२ महिना पुग्न लाग्दासमेत हत्यारा पक्राउ नपर्दा झन् पीडा थपिएको छ ।’ निर्मला ९ र मनीषा १० कक्षामा पढ्ने भएकाले पनि उनीहरू प्रायः एकसाथ पढ्ने र गृहकार्य गर्ने गर्थे ।

‘९÷१० को कोर्स मिल्ने भएकाले पनि सहकार्य गरेर पढ्ने गर्थ्यौंं’, उनले भनिन्, ‘मैले जानेको उसलाई र उसले जानेको मलाई सिकाउने गर्थ्यौंं ।’ बहिनीको बलात्कारपछि हत्या घटनाले पढ्नसमेत मन लाग्न छाडेको उनी बताउँछिन् ।

घटना भएको दिनदेखि घर सुनसान छ । चहलपहल हुन छाडेको छ । निर्मलाको घरनजिकै उनी पढ्ने स्कुल छ । नजिकै निर्मलाको घर भएकाले पढ्न आउने स्कुले बालबालिकालाई समेत निर्मलाकै याद आउने गरेको स्थानीय मञ्जु भट्ट बताउँछिन् । ‘निर्मलामाथि घटेको घटनाले अन्य बालबालिकामा समेत असर परेको छ’, उनले भनिन्, ‘हत्यारा पत्ता नलाग्दा झन् सबैलाई पीडा थपिएको छ ।’ अन्नपूर्ण