देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

निर्मला पन्त हत्या प्रकरण : छानबिन समितिले प्रतिवेदन बुझायो

देशान्तर

काठमाडौं । निर्मला पन्त हत्याकाण्डको अनुसन्धान गर्न गठित उच्चस्तरीय छानबिन समितिले मंगलबार गृहमन्त्री रामबहादुर थापालाई अध्ययन प्रतिवेदन बुझाएको छ । समितिका संयोजक हरिप्रसाद मैनालीको टोलीले गृह मन्त्रालयमा प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा घटनाको सम्भावित कारण, घटनास्थलको विवरण, प्रहरी अनुसन्धानलगायत सम्भावित आरोपीबारे पनि उल्लेख गरिएको बताइएको छ । गृहमन्त्री थापाले प्रतिवेदन पूर्ण रुपमा कार्यान्वयन गरिने बताएका छन् । निर्मला हत्याकाण्डमा सरकार गम्भीर रहेको पनि गृहमन्त्री थापाको भनाइ थियो ।

कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना छानबिनका लागि गृहका सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा भदौ ७ गते उच्चस्तरीय समिति गठन गर्ने निर्णय भएको थियो । भदौ २५ मा १५ दिनका लागि समितिको म्याद थपिएको थियो । घटनाको अनुसन्धानमा देखिएको प्रहरी कमजोरी, विभिन्न व्यक्तिको बयान प्रतिवेदनमा उल्लेख गरिएको समितिका सदस्य वीरेन्द्र केसीले बताए । “देखिएका सबै कुरा उल्लेख भएका छन् । प्रहरीका विषयदेखि अन्य विभिन्न विषय छन् । सीसीटिभीका कुरा पनि छन्, सबै कुरा नभनौं,’’ केसीले भने ।

समितिले घटनाको अनुसन्धानमा प्रहरीले लापरवाही गरेको निष्कर्षसमेत निकालेको छ । गत साउन १० गते साथी रोशनी बमको घरमा गएकी निर्मला साउन ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् ।

समिति स्रोतका अनुसार निलम्बनमा परेका ६ प्रहरी अधिकृतबाहेक अरुलाई कारबाही सिफारिस गरिएको छैन । निर्मलाको बलात्कार र हत्यापछि कञ्चनपुरमा आन्दोलन चर्किएको थियो । हत्या भएको २४ औं दिनमा प्रहरीले दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । दिलिपको डिएनले निर्मलाको शरीरमा भेटिएको पदार्थसँग मेल नखाएपछि उनी थुनामुक्त भएका थिए ।

दिलिप पक्राउ परेपछि चर्किएको आन्दोलनमा प्रहरीले गोली चलाउँदा शनि खुनाको ज्यान गएको थियो । प्रहरीले अहिले पनि अनुसन्धान जारी राखेको बताए पनि परिणामखुखी नतिजा भने आउन सकेको छैन ।