देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

६० हजार देखि २ लाख सम्ममा नागरिकता

देशान्तर

काठमाडौँ । एउटा नेपालीले नागरिकता पाउन विभिन्न प्रक्रिया पूरा गर्नुपर्छ । वडा कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयसम्म विभिन्न प्रक्रिया पूरा गर्दै अधिकार प्राप्त अधिकारसामु थरीथरीका प्रमाण पुर्याउनुपर्ने कानुनी प्रावधान छ । सप्तरीमा भने नेपाली नागरिकता जोसुकैले पनि सहजै पाउँछन् । चाहे त्यो विदेशी नागरिक नै किन नहोस् ।

विभिन्न गाउँपालिका–नगरपालिका, वडा कार्यालय, प्रहरी र जिल्ला प्रशासन कार्यालयका कर्मचारीसँगको मिलेमतोमा गिरोहले नागरिकता बिक्री गर्ने गरेको तथ्य प्रहरी अनुसन्धानबाट खुलेको हो ।

गिरोहले नागरिकताको मूल्य न्यूनतम ६० हजारदेखि दुई लाख रुपैयाँसम्म निर्धारण गरेको छ । नागरिकता लिन इच्छुक व्यक्तिको कामको प्रकृति र आर्थिक हैसियतका आधारमा मूल्य निर्धारण गरिएको स्रोतले बतायो ।

नक्कली नागरिकता लिएको आरोपमा पछिल्लोपटक पक्राउ परेका एक भारतीय व्यापारीले सप्तरी प्रहरीसमक्ष दिएको बयानका आधारमा पनि यस्ता तथ्य प्रमाणित हुन्छन् ।

केही दिनअघि इटहरीबाट पक्राउ परेका भारतीय नागरिक रवि रौनियारले राजविराजस्थित एक चियापसलबाट ६० हजार रुपैयाँमा नागरिकता लिएको बयान दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय स्रोतले भन्यो, ‘रौनियारले ५० हजार अग्रिम र १० हजार नागरिकता लिइसकेपछि बुझाएको बयान दिएका छन् । रौनियारलाई किर्ते नागरिकता बनाउन सघाएको आरोपमा एक नेपालीसमेत पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीले घटनाबारे अनुसन्धान भइरहेकाले विस्तृत विवरण तत्काल सार्वजनिक गर्न नमिल्ने जनाएको छ ।

रौनियारलाई सुनसरी प्रहरीले इटहरीबाट पक्राउ गरी अनुसन्धान र कारबाहीका लागि सप्तरी प्रहरीलाई बुझाएको थियो । भारत विहार सीतामढी जिल्लाअन्तर्गत रिगाखर्सान ग्रामपञ्चायत स्थायी घर भएका रौनियार नेपाली नागरिकता लिएर इटहरी उपमहानगरपालिका १७ मा बसोबास गर्दै आएका थिए ।

प्रहरीका अनुसार उनले २०७१ साल माघ २६ गते वंशज नागरिकता लिएका थिए । रौनियारको नागरिकतासम्बन्धी अभिलेख जिल्ला प्रशासन कार्यालयमा छैन । उनको नागरिकता नम्बर १६÷८५४६३ हो ।

उनको नागरिकतामा बुवाको नाम जामुन रौनियार उल्लेख छ । स्थानीयका अनुसार साबिकको मलेकपुर गाविस–७ मा रौनियार वा गुप्ता थरका बासिन्दा नै छैनन् ।

यसै प्रकरणमा सप्तरी छिन्नमस्ता गाउँपालिकाका सुरेन्द्र साहलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्रोतले बतायो । रौनियारलाई किर्ते नागरिकता बनाउन सघाएको आरोपमा साहमाथि अनुसन्धान थालिएको हो ।

साहले आफूसित नेपाली नागरिकता प्रमाणपत्रको पुरानो कार्ड रहेको र आफंैले राजविराजको नेताचोकमा नेपाली नागरिकता भरेर दिएको स्वीकारका छन् । उनले आफू गाविसका पूर्वकर्मचारी रहेको बताएका छन् । जिल्ला प्रशासन कार्यालयको छाप पनि आफूले किर्ते गरेको बयान उनको छ ।

पछिल्लो साता सप्तरी प्रहरीले नक्कली नागरिकता लिएको आरोपमा भारतीय नागरिक रामजित रजकलाई पक्राउ गरेको छ । झापा दमक नगरपालिका–७ बस्दै आएका रजकसँग राजविराज–३ स्थायी ठेगाना लेखिएको नेपाली नागरिकता छ ।

इलाका प्रशासन कार्यालय दमकमा सिफारिस लिन जाँदा उनलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । उनको नागरिकता नम्बर १८४०÷३२६१ हो । उनको नागरिकताबारे जिल्ला प्रशासन कार्यालय सप्तरीमा कुनै अभिलेख नरहेको पौडेलले बताए ।

किर्ते नागरिकता प्राप्त गरी वर्षौंदेखि नेपालमा अवैध रूपमा जग्गा व्यवसाय गर्दै आएका भारतीय नागरिक मन्टुनकुमारलाई पक्राउ गर्न पछिल्लो साता जिल्ला प्रशासन कार्यालय सप्तरीले प्रहरीलाई पत्राचार गरेको छ । मन्टुनकुमार दासका नाममा किर्ते नागरिकता लिएका अभियुक्तको खोजी कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

भारत मधुवनीका मन्टुनविरुद्ध जिल्ला प्रशासन कार्यालयमा नक्कली नागरिकतासम्बन्धी उजुरी परेपछि प्रशासन उनको खोजीमा सक्रिय भएको हो । ७६५४ नागरिकता नम्बर रहेको उनको नागरिकतामा सप्तरीको साबिक रौतहट गाविस–१ स्थायी ठेगाना उल्लेख छ ।

उक्त नागरिकता २०६३ पुस १ गते इलाका प्रशासन कार्यालय बोदेबर्साइनबाट जारी भएको हो । यो नागरिकताको पनि जिल्ला प्रशासन कार्यालयसँग अभिलेख छैन।

प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘यो नागरिकता पनि जिल्ला प्रशासनबाट नभई पैसा लिएर बजारबाटै जारी गरिएको देखिन्छ । यसअघि सप्तरी प्रहरीले भारतीय व्यापारी विनित देव र शतिस अग्रवाललाई नक्कली नागरिकता लिएको आरोपमा पक्राउ गरेको छ । अग्रवाल पत्नी मोनिका नक्कली नागरिकता प्रकरणमै फरार छिन्।

नक्कली नागरिकता किनबेचमा गिरोह सक्रिय भइरहेको तथ्य सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय शंकाको घेरामा तानिएको छ । नागरिकता वितरण गर्ने आधिकारिक निकाय जिल्ला प्रशासन कार्यालय हो । नागरिकता कार्ड र गृह मन्त्रालयको स्टिकर पनि जिल्ला प्रशासनसँगै हुन्छ ।

यसअघि पक्राउ परेका दुई भारतीयले त तीनतीन पटकसम्म जिल्ला प्रशासन कार्यालय सप्तरीबाट नागरिकताको प्रतिलिपि लिएको प्रहरी अनुसन्धानले देखाउँछ ।

गत चैत २४ गते पक्राउ परेका भारतीय व्यापारी सतिश अग्रवालले ०५२ असार १५ मा नागरिकता लिएका हुन् । उनको नागरिकतासम्बन्धी अभिलेख जिल्ला प्रशासन कार्यालयमा छैन ।

उनले २०६४ मंसिर २५ र २०७३ चैत ६ गते गरी दुईवटा प्रतिलिपिसमेत निकालेको प्रहरी अनुसन्धानले देखाउँछ । जिल्ला प्रशासन कार्यालयले भने अग्रवालको २०५२ सालको मूल नागरिकता तथा २०६४ र २०७३ को प्रतिलिपिसम्बन्धी अभिलेख कार्यालयमा नरहेको जनाएको छ।

नक्कली नागरिकता प्रकरणमा फरार मोनिका अग्रवालको नागरिकतासम्बन्धी अभिलेख पनि जिल्ला प्रशासनसँग छैन । वैवाहिक अंगीकृत नागरिक मोनिकाको नागरिकता नम्बर १६१०३०÷११३ हो । यो नम्बरको नागरिकता सप्तरीकै छिन्नमस्ता गाविस–२ बस्ने मोहम्मद मुस्ताक मियाँकी पत्नी खातुन मियाँका नाममा रहेको जिल्ला प्रशासन कार्यालयको अभिलेखमा छ ।

नागरिकतासम्बन्धी अभिलेख जिल्ला प्रशासन कार्यालयमा नरहनु शंकास्पद रहेको नागरिक समाजका अगुवा सुखराम यादव बताउँछन् । सतिश अग्रवालको नक्कली नागरिकता प्रकरणमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जनक कोइराला र तत्कालीन नायबसुब्बा भगवान दाहाल पनि आरोपित छन् ।

गत जेठमा सप्तरी प्रहरीले दुई भारतीय व्यापारीलाई किर्ते नागरिकता लिएको आरोपमा पक्राउ गरेको थियो । पछिल्ला तीनवटै किर्ते नागरिकता प्रकरणमा थुप्रै समानता छन् ।

जेठ दोस्रो साता भारत घर भई सुनसरी सदरमुकाम इनरुवामा व्यवसाय सञ्चालन गर्दै आएका विनित देवलाई किर्ते नागरिकता लिएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । उनी आफैं नागरिकता परित्याग गर्न जिल्ला प्रशासन कार्यालय सप्तरी पुग्दा नागरिकतासम्बन्धी अभिलेख नै नभेटिएपछि उनलाई तत्कालै पक्राउ गरिएको थियो ।

इनरुवा देवको ससुराली हो । उनीसँग रहेको नागरिकता २०५२ साल जेठ २ गते जारी भएको देखिन्छ । उनले लिएको नागरिकतामा स्थायी ठेगाना सप्तरी मयनाकडेरी गाविस उल्लेख छ । भागवत देवका नाति योगेन्द्र देवको छोरा भई नेपाली नागरिकता लिए पनि मैनाकडेरीमा देव समुदायको बसोबास नै छैन ।

उनीसित रहेको नेपाली नागरिकतामा तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीले प्रमाणित गरेको देखिन्छ । पक्राउ परेका देवले २०७० साल फागुन ४ गते जिल्ला प्रशासन कार्यालय सप्तरीबाट नागरिकताको प्रतिलिपिसमेत लिएका थिए ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी पौडेल नक्कली नागरिकता लिएका गैरनेपालीलाई नियन्त्रणमा लिन आफूहरूले तदारुकता देखाएपछि किर्ते गरी नागरिकता लिएका विदेशहरू धमाधम पक्राउ पर्न थालेको बताउँछन् ।

शासन व्यवस्था तथा प्रक्रिया परिवर्तनका बेला पुराना नागरिकता कार्डलाई उचित व्यवस्थापन गर्न नसक्दा यस्तो समस्या देखिएको आशंका उनको छ । श्री ५ को सरकारबाट नेपाल सरकार भएपछि थुप्रै पुराना कार्ड हामीसँग थियो । तिनलाई व्यवस्थापन गर्न नसएिको उनले बताए । २०६३ मा टोलटोलमा नागरिकता टोली खटिँदा पनि नागरिकता दुरुपयोग भएको प्रमुख जिल्ला अधिकारी पौडेलको बुझाइ छ ।