काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले महिला हिंसासँग सम्बन्धित ९० प्रतिशत घटनाका दोषीलाई कार्वाही गरिएको दावी गरेका छन् ।
गृहमन्त्री थापाले बलात्कार, हत्यालगायतका महिला हिंसासँग सम्बन्धित नब्बे प्रतिशत घटनाको तत्काल अनुसन्धान गरी दोषीलाई कारबाही गरिएको दाबी गरेका हुन् । बिहीबार महिला हिंसा न्यूनीकरणसम्बन्धी सरकारको काम कारवाहीबारे संघीय संसदको महिला तथा सामाजिक समितिलाई जानकारी गराउँदै उनले बाँकी १० प्रतिशत घटनाका दोषीलाई पनि छिट्टै कारवाहीको दायरामा ल्याउने प्रतिवद्धता दोहोर्याए । गृहमन्त्री थापाले बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारवाही गर्न ढिलाइ नहुने आश्वासन पनि दिए ।
उनले घटनाको तथ्य बाहिर ल्याउन सरकारले छानवीनमा त्रुटि गर्नेमाथि कारवाही गरेको पनि समितिलाई स्मरण गराए । गृहमन्त्री थापाले महिला हिंसाको घटनालाई राजनीतिकरण नगर्न पनि सबैलाई आग्रह गरे । गृहमन्त्री थापाले समितिसमक्ष विगत ५ महिनायता ७ सय १० वटा जबरजस्ती करणीको घटना घटेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न सरकारले मदिरा सेवन, लागू औषध सेवनलगायतको कामलाई निष्तेज पार्न प्रभावकारी कदम चालिरहेको दावी पनि गरे ।





प्रतिक्रिया