काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेतृहरुले महिला र बालबालिकामाथि बढ्दो जघन्य अपराधका घटना नियन्त्रणका लागि ठोस कदम चाल्न सरकारलाई दवाव दिएका छन् ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका महिला नेतृहरुले गृहमन्त्री रामबहादुर थापासँग सामूहिक भेट गरी महिला तथा बालबालिकामाथि हुने हत्या, बलात्कारलगायतका जघन्य अपराधका घटना हुनै नदिने गरी आवश्यक कदम चाल्न माग गरेका छन ।
पीडित पक्षलाई समेत लिएर शुक्रबार गृह मन्त्रालय पुगेका उनीहरुले पीडितलाई न्याय दिन र पीडकलाई फाँसीको सजाय दिने व्यवस्था गर्न माग गर्दै गृहमन्त्री थापालाई ध्यानाकर्षण पत्र समेत बुझाएका छन् ।
गृहमन्त्री थापाले पनि महिला र बालबालिकामाथि जघन्य अपराधका घटना हुन नदिन सरकार जिम्मेवार ढंगले लागि परेको दाबी गरे ।
गृहमन्त्री थापाले बढ्दो महिला तथा बालिकामाथि हुने हत्या, बलात्कारलगायतका ९० प्रतिशत घटनाको छानबिन गरी दोषिलाई कारबाही गरिएको र निर्मला पन्तलगायतका घटनाका दोषीलाई पनि छिट्टै कानुनी कठघरामा उभ्याउने आश्वासन पनि महिला नेतृहरुलाई दिएका छन ।





प्रतिक्रिया