देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दसैंको टिकट सकिएको छैन, समयमै टिकट लिनुहोला : ट्राफिक प्रहरी

देशान्तर

काठमाडौँ । दसैंको लागि खुल्ला गरिएको लामो दुरीका सवारीको टिकट नसकिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ। ट्राफिक प्रहरी महाशाखाले टिकट सकिएको भन्ने हल्लामात्र भएको समेत जनाएको हो।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले शुक्रवार पत्रकार सम्मेलन गरी कुनै पनि बसहरूको टिकट नसकिएको जनाएको हो। महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले भने, ‘अहिलेसम्म कुनै पनि सवारीको टिकट सकिएको छैन। अहिले पनि बुकिङ भइरहेको छ। समयमा नै टिकट लिएर दसैं मनाउन जाँदा सहज हुन्छ।’

महाशाखाले अहिलेसम्म २८ हजार टिकट बिक्री भइसकेको जनाएको छ। टिकट बुकिङमा कालोबजारी, ठगी तथा यात्रुलाई सास्ती दिनेलाई कारबाही हुने एसएसपी पन्तले बताए। ‘टिकटमा हुने ठगी रोक्न ट्राफिक प्रहरीले सदा पोसाकमा प्रहरी समेत परिचालन गरेको छ,’ एसएसपी पन्तले भने, ‘कसैले पनि टिकटमा कुनै पनि ठगी तथा कालोबजारी गर्छ भने हामीलाई सम्पर्क गर्नुहोला कारबाही गर्छौँ।

यात्रुको सहायताका लागि उपत्यकाभित्रका विभिन्न १३ स्थानमा सहायता कक्ष समेत सञ्चालनमा ल्याइएको उनले जानकारी दिए। यसवर्षको दसैंमा करिब २४ लाख मानिस उपत्यकाबाहिर जाने प्रहरीले अनुमान गरेको छ। दसैंमा यात्रुलाई सवारीको कारणले हुने दुख न्युनिकरण गर्न थप बसहरू सञ्चालन गर्ने विषयमा सम्बन्धित निकायहरूसँग छलफल भइरहेकोसमेत एसएसपी पन्तले बताए।

अहिले उपत्यकाका बाहिरिने ६ वटा नाकाबाट दैनिक ८ हजार यात्रु बाहिरिने तथा ७ हजार यात्रु भित्रिने गरेको ट्राफिकको तथ्यांकमा उल्लेख छ। दसैंलाई लक्षित गरी महाशाखाले सडक सुरक्षाको लागि विशेष व्यवस्था मिलाएको जनाएको छ। गत वर्ष दसैंको घटस्थापनादेखि पूर्णिमासम्मको अवधिमा १ सय ७७ वटा सवारी दुर्घटना भएका थिए। दुर्घटनामा ४ जनाको ज्यान गएको थियो भने ७ जना गम्भीर घाइते भएका थिए।