काठमाडौँ । दसैं–तिहार नजिकिँदै गर्दा कालिकोटका ग्रामीण क्षेत्रमा खाद्यान्नको हाहाकार भएको छ । सदरमुकामस्थित डिपोमा प्रशस्त चामल रहे पनि गाउँमा रहेका तीनवटै डिपो रित्तो भएका छन ।
जिल्लाको पादमघाट, खल्लागाड र थिर्पुमा खाद्यान्नका डिपो कार्यालय छन । ढुवानीको ठेक्का पाएका ठेकेदारहरूले सम्झौता नगर्दा डिपोमा चामल नभएको हो । तर, सदरमुकामस्थित डिपोमा ७ सय ६७ क्विन्टल ४६ केजी चामल मौज्दात छ ।
ढुवानीकर्ताले सम्झौता नगर्दा समस्या भएको जिल्ला खाद्य संस्थान कालिकोटका निमित्त प्रमुख खड्क बुढामगरले बताए । उनले सदरमुकाममा दसैं–तिहारसम्मलाई पुग्ने खाद्यान्न छ तर, ढुवानीकर्ताले सम्झौता नगर्दा डिपो कार्यालयहरूमा खाद्यान्नको अभाव भएको देखाइएको बताए । ठेक्का दिनै ढिला भएकाले सम्झौतामा पनि ढिलाइ भएको ठेकेदारहरूको तर्क छ ।
थिर्पु डिपोको ढुवानी ठेक्का निसान निर्माण सेवा कालिकोट र लवकुश जनरल स्टोर्स कालिकोटले पाएका छन् भने पादमघाट र खल्लागाड डिपोको ढुवानी ठेक्का रामसागर जनरल स्टोर्स सुुर्खेतले पाएको छ । उनीहरूले ठेक्का पाएको तीन दिन मात्र भएको छ । ठेक्काको टुंगो लागेको १५ दिनभित्र सम्झौता गर्नुपर्ने नियम छ ।
दसैँअगाडि नै खाद्यान्न उपलब्ध गराउन स्थानीयले माग गरेका छन । उनीहरूले खाद्यान्नको समस्या समाधान गरी ढुक्कले चाडपर्व मनाउने वातावरण बनाउन माग गरेका हुन ।
पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमले खाद्यान्न ढुवानीको पहल थालिएको बताए । उनले दसँै–तिहारमा खाद्यान्नको अभाव हुने देखिएपछि खाद्यान्न ढुवानी गर्न पहल थालेको बताए ।





प्रतिक्रिया