देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बढी भाडा लिनेको अनुगमन शुरु

देशान्तर

काठमाडौँ। दशैँको अग्रिम बुकिङको टिकट कालाबजारी गर्ने, बढी भाडा लिने, सहुलियत नदिनेलगायत नियम विपरीत काम गर्नेलाई यातायात व्यवस्था विभागले कारवाही गर्ने भएको छ । अनुगमन गरी कारवाहीको अभियान आजैदेखि शुरु गरिएको विभागका महानिर्देशक लावण्यकुमार ढकालले जानकारी दिए । सार्वजनिक यातायातका बारेमा धेरै गुनासा आएकाले आजदेखि आफैँ अनुगमनमा निस्किएको उनले सुनाए ।

विभागको नेतृत्वमा आज नयाँ बसपार्कबाट थानकोटसम्म अनुगमन भएको छ । नयाँ बसपार्कलगायतका स्थानमा समितिका सवारीले टिकट सकियो भन्ने गरेका छन् । दशैँमा लामो दूरीमा यात्रा गर्ने यात्रुले पहिल्यै टिकट लिने गरेका छन् । असोज ९ गतेदेखि मात्र यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ शुरु गरेका थिए ।

मन लागे जति भाडा लिन काउन्टरले कहाँबाट कहाँ जाने स्थानको नाम समेत लेख्दैनन् । सार्वजनिक यातायातमा देखिएका यस्ता समस्या समाधानका लागि अनुगमनलाई तीव्रता दिन लागिएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए । दशैँ अघि नै असोज ७ गते समायोजन गरिएको भाडा सूची प्रकाशन गरेर वितरण गर्न लागिएको उनले जानकारी दिए ।

मुख्य–मुख्य चोकमा भाडा सूचीको बोर्ड राख्ने तयारी समेत भइरहेको विभागले जनाएको छ । विभागले तोकेको भन्दा रु एकमात्र बढी भाडा लिए पनि रु पाँच हजार जरिवाना गरिने जनाइएको छ ।