देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

निर्मला हत्या प्रकरण : बम दिदी बहिनीलाई अनुसन्धानको दायरामा ल्याउन माग  

देशान्तर

काठमाडौं । नेपाल मानव अधिकार संगठनले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणमा बम दिदी बहिनी र निर्मलाका मामा तीर्थराज भण्डारीलाई पनि अनुसन्धानको दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।

घटनाको स्थलगत अध्ययन प्रतिवेदन शुक्रबार काठमाडौंमा सार्वजनिक गर्दै संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले घटनाको सम्पूर्ण जानकारी भएको दाबी गर्दै बम दिदी बहिनी र निर्मलाका मामा भनिने तीर्थराज भण्डारीलाई अनुसन्धानको दायरामा ल्याउन सरकारसँग माग गरेका हुँन् ।

संगठनको प्रतिवेदनामा घटनाको वास्तविकतातर्फ सरकारको अनुसन्धान केन्द्रित नभएको दाबी गर्दै एसपी डिल्लीराज विष्ट, बम दिदी बहिनी र निर्मलाका मामा भण्डारीले घटनाको यथार्थता लुकाउन चलखेल गरिरहेको पनि उल्लेख गरिएको छ ।

संगठनले घटनास्थल नजिकै रहेको नेपाली सेनाको व्यारेकलाई पनि अनुसन्धानको दायरामा ल्याउन सरकारलाई सुझाव दिएको छ । उनीहरुसँग ठोस र प्रभावकारी अनुसन्धान नभएकै कारण निर्मला पन्त हत्याका दोषी पत्ता लगाउन नसकेको निष्कर्ष पनि संगठनको अनुगमन टोलीले निकालेको छ ।

संगठनले सबै स्रोत, साधनको प्रयोग गरी हत्यारा पत्ता लगाउन र निर्दोषलाई यातना दिने कार्यमा संलग्न तथा गैरकानुनी रुपमा बल प्रयोग गरी जनधनको क्षति पु¥याउने प्रहरीमाथि कडा कानुनी कारबाही गर्न पनि माग गरेको छ ।