काठमाडौं । सरकारी तथ्यांक अनुसार सामान्य महिनामा नेपालीले मासिक नौ अर्ब रुपैयाँको खसीबोकाको मासु खाने गरेका छन । सरकारले लिएको आँकडा र उपभोक्ता मूल्यलाई आधार मान्दा देशभर मासिक नौ अर्ब २८ करोड ८० लाख रुपैयाँको मासु खपत हुने देखिएको छ ।
मासु खानकै लागि नेपालीले वार्षिक एक खर्ब ११ अर्ब ४५ करोड ६० लाख रुपैयाँ खर्च गर्छन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार देशभर मासिक चार लाख ३० हजार खसीबोका खपत हुन्छ । तीमध्ये झण्डै तीन लाख ८४ हजार दुई सय दुई गोटा स्वदेशमै उत्पादन हुन्छन् ।
स्वदेश र आयातित खसीबोका औसत ३० किलोका हुन्छन । ३० किलोका खसीबोकाको २४ किलो तयारी मासु बन्छ । एक किलो खसीको मासुको उपभोक्ता मूल्य औसत नौ सय रुपैयाँ पर्छ यो पुरानो मुल्य हो र अहिले उपत्यकामा प्रति किलो ११ सय रुपैँया पुगिसकेको छ ।
स्वदेशी उत्पादन तीन लाख ८४ हजार दुई सय दुई गोटाबाट औसत ९२ लाख २० हजार किलो मासु तयार हुन्छ । यस्तै विदेशबाट आयात हुने ४५ हजार सात सय ९८ गोटाबाट १० लाख ९९ हजार एक सय ५२ किलो मासु तयार हुन्छ । दसैंंलगायत चाडवाडको तथ्यांक भने यो परिमाणमा जोडिएको छैन ।
दसैंंमा सामान्य दिनभन्दा झण्डै १० दोब्बर हाराहारीमा खसीबोकाको मासु कारोबार हुन्छ । दसैंंमा हुने कारोबारलाई जोड्ने हो भने वार्षिक करिब डेढ खर्बभन्दा बढीको मासु नेपालीले खाँदै आएका छन् । दसैंका लागि ५७ करोड ६० लाख रुपैयाँका ३६ हजार गोटा खसीबोका आयात गरिन्छ ।
चौपाया खरिदबिक्री सेवा संघका अनुसार सहरीकरण र जीवनस्तरमा आएको सुधारसँगै नेपाली उपभोक्तामा मासु खाने प्रचलन बढेको छ । विगतमा लेदो मासुमा रमाउने उपभोक्ता अहिले विविध परिकारको स्वादमा रमाउन थालेका छन् ।
साना रेस्टुरेन्टदेखि पाँच तारे होटेलसम्मले अहिले खसीबोका मासुका परिकार मेनुमा पस्किन थालेपछि उपभोग दर बढेको छ । खसीबोकाको मासुबाट बनाइने विभिन्न प्रकारका परिकारका कारण पनि खपत बढ्दै गएको संघका अध्यक्ष गोविन्द पाठकले बताए ।
मासु खानकै लागि नेपालीले वार्षिक एक खर्ब ११ अर्ब ४५ करोड ६० लाख रुपैयाँ खर्च गर्छन्।
खसीबोकाको मासुबाट साँधेको कलेजो, साँधेको टाउको, ह्याकुलाको छोइला, भुटेको फोक्सो, सादा कवाफ, सिंक कवाफ, भरेको फोक्सो, मटन चप्स, मटन वल, रोगन जोस, मुस्लिम कवाफ, सुक्खा मासु, प्याजी मासु, हाँडी कवाफ, सेकुवा, मटन विरयानी, भुटन, तास, लेदो मासु र किमाजस्ता परिकारका कारण उपभोगदर बढ्दै गएको हो ।
नेपालमा मासिक ३७ करोड मूल्य बराबरका साढे ४५ हजारको संख्यामा खसीबोका आयात हुन्छ । मुख्य गरी भारत, अमेरिका र अस्ट्रेलियाबाट खसी आयात गरिन्छ । भन्सार विभागको तथ्यांकलाई आधार मान्ने हो भने चालु आर्थिक वर्षको पहिलो महिनामा यो मूल्यबराबरको खसीबोका आयात भएको हो । वार्षिक नेपालमा डेढ खर्बदेखि एक खर्ब ७५ करोड मूल्यबराबरको साढे तीन लाखदेखि पाँच लाख गोटासम्म खसीबोका आयात हुने गरेको छ ।
व्यवसायीका अनुसार आयातित खसीबोकामध्ये ९० प्रतिशत उपत्यकामा खपत हुन्छ । स्वदेशमा उत्पादन भए पनि ग्रामीण भेगसम्म बाटोघाटोको असुविधा र ढुवानी समस्याका कारण बाहिरी मुलुकबाट ठूलो परिमाणमा खसीबोका आयात गर्नुपरेको हो ।
लोकल उत्पादन स्थानीय स्तरमै खपत हुन्छ । आयातित खसीबोकामध्ये झण्डै शतप्रतिशत ठूला सहरमा खपत हुने गर्छ । संघका अनुसार भारतकोे लखनउ, बहराइच, काल्पी, जसविरनगर, कानपुर र हरियाणालगायतबाट लाम्काने र जमुनापारी जातका खसी आयात गरिन्छ । चौपाया खरिदबिक्री सेवा संघका अनुसार उपत्यकामा थोकमा खसीबोकाको वार्षिक कारोबार १६ अर्ब मूल्यबराबरको हुन्छ ।
नेपालमा खसीबोका मात्रै होइन, तयारी र प्रशोधित उच्च गुणस्तरको मासु पनि आयात हुन्छ । चालु आर्थिक वर्षको दुई महिनामा विभिन्न मुलुकबाट तीन करोड ५१ लाख ३९ हजार मूल्यबराबरको खसीबोकाको मासु आयात भएको छ । यस अवधिमा नेपालबाट भने चार करोड ४२ लाख १२ हजार मूल्यबराबरको स्वदेशी खसीबोकाको मासु निर्यात भएको छ । आजको अन्नपूणमा खबर छ ।





प्रतिक्रिया