देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

यसरी हुँदैछ बजारमा चिनिको कृतिम अभाव

देशान्तर

काठमाडौँ । सरकारले भारतबाट चिनी आयातमा प्रतिबन्ध लगाएपछि एक सय ४४ मेट्रिक टन चिनी तीन सातादेखि नेपालगन्ज भन्सारमा रोकिएको छ । व्यापारीले दसैँ र तिहारलाई लक्षित गरी ल्याएको चिनी सरकारले भन्सारमै रोक्न निर्देशन दिएको बुझिएको छ ।

मन्त्रिपरिषद् बैठकले गत ३१ भदौमा भारतबाट चिनी आयात नगर्ने निर्णय गरेपछि साबिकका मध्य र सुदूरपश्चिमका लागि ल्याइएको चिनी नेपालगन्ज भन्सार कार्यालयमा थन्काएर राखिएको छ भने सुदुरपश्चिका जिल्लाहरुमा चिनिको हाहाकार भएको छ । सरकारले भारतबाट आएको चिनी आयात नगर्ने निर्णय गरेको भोलिपल्ट व्यापारीको चिनी नेपालगन्ज आइपुगेको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले बताए ।

उनले मन्त्रिपरिषद्को निर्णयपछि चिनी आएकाले भन्सारबाट नपठाउन आदेश आएको बताए । सरकारले निर्णय गर्नुभन्दा अगाडि नै व्यापारीले भारतमा चिनी खरिद गरेर ट्रान्सपोर्टमा हालेको चिनि भन्सारमा राकिएको हो । चिनी आइपुग्नुभन्दा पहिले नै सरकारले आयात नगर्ने निर्णय गरिसकेकाले भन्सारबाट पठाउन नमिल्ने आदेश भएको भन्दै कर्मचारीले चिनि नेपाल ल्याउन दिएका छैनन् ।

व्यापारीले दसैँ र तिहारका लागि दसैँअघि नै चिनी खरिद गरेका थिए । भन्सार अधिकृत श्रेष्ठले ४२ लाख भारतीय रुपैयाँ अर्थात् ६७ लाख नेपाली रुपैयाँको चिनी भन्सार हुन नसकेको बताए । उनले नेपालगन्ज भन्सारमा मात्र नभई वीरगन्ज, भैरहवा, धनगढी, विराटनगरलगायत भन्सारमा पनि चिनी थन्किएको बताए ।

भन्सार महाशाखाले नेपालगन्ज भन्सारमा रोकिएको चिनीको बारेमा सोधपुछ गरे पनि विकल्पका लागि कुनै निर्देशन आएको छैन । सरकारले भन्सारमा चिनि रोकेपछि अहिले स्थानीय बजारमा केहि व्यापारीहरु प्रतिकिलो ७० देखि ७५ रुपैयाँमा बिक्री गर्दै आएका छन ।

भारतबाट चिनी आयातमा सरकारले रोक लगाएपछि नेपालगन्जमा चिनीको मूल्य बढेको व्यापारीले दाबी गरेका छन । व्यापारीले प्रतिकिलो ७० देखि ७५ रुपैयाँमा चिनी बिक्री गर्दै आएको नेपालगन्ज किराना तथा खाद्य व्यवसायी संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए ।

क्वालिटीको आधारमा व्यापारीले चिनीको मूल्य आफै तोक्ने गरेका छन । चुन्नाले भारतबाट बढी मूल्यमा खरिद गरेर नेपालमा कम मूल्यमा बिक्री गर्दै आएको बताए । भारतमा ३० भारतीय रुपैयाँ अर्थात् नेपाली ४८ रुपैयाँमा खरिद गरेर ल्याउँदा ३० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट तिर्नुपर्दा महँगो परेको उनको भनाइ छ ।

सरकारले भारतबाट चिनी ल्याउन रोक लगाए पनि नेपालगन्जमा प्रशस्त चिनी मौज्दात रहेको व्यापारीले बताएका छन । तर, नेपाल गन्जभन्दा उताका जिल्लाहरुमा भने चिनिको अभाव खड्किएको छ ।