काठमाडौँ । नेपाली कांग्रेसले दसैँको कोजाग्रत पूर्णिमाको दिन यसअघि गर्दै आएको चियापानको स्वरूप बदल्ने भएको छ । बिपी कोइराला भारत निर्वासनबाट राष्ट्रिय मेलमिलपाको नीति लिएर फर्किएपछि २०३४ सालबाट हरेक कोजाग्रत पूर्णिमाको दिन कांग्रेसले चियापान गर्दै आएको थियो । तर, अहिलेसम्म पार्टी केन्द्रीय कार्यालयमा हुँदै आएको चियापान यसपटक ७४ जिल्लामा पनि हुने भएको छ ।
काठमाडौं, ललितपुर, भक्तपुरको जिल्ला कार्यसमितिले केन्द्रमै कार्यक्रम गर्ने भएपनि ७ कात्तिकमा अरू ७४ जिल्ला सदरमुकाममा पनि केन्द्रीय स्वरूपमै चियापान गरिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । ३३ सालमा बिपी निर्वासनबाट फर्किएपछि ०३४ सालपछि राष्ट्रिय मेलमिलापका लागि दसैँको पूर्णिमाको दिन पार्टीको केन्द्रमा मात्र चियापान हुने गरेको भन्दै शर्मा अब यो बिकेन्द्रीकृत भएर जिल्ला जिल्लामा पुग्ने बताए ।
केन्द्रमा प्रधानमन्त्री, मन्त्रीहरू, राजनीतिक दलका नेता, उच्च पदस्थ कर्मचारीहरू, नागरिक समाज, पेसागत संघ–संगठनका प्रतिनिधि, कूटनीतिज्ञ, सर्वसाधारणलाई आमन्त्रित गरिने कार्यक्रमको स्वरूप जिल्लामा पनि यस्तै हुने उनले बताए । जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद, प्रदेश सांसद, दलका नेता, गाउँपालिका, नगरपालिकाका प्रतिनिधि, पेसागत संगठनका प्रतिनिधिसहितलाई बोलाइने उनले जानकारी दिए ।
केन्द्रमा जस्तै कोजाग्रत पूर्णिमाको दिन जिल्लाहरूमा पनि ७ असोजमा १ बजे नै कार्यक्रम सुरु हुनेछ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले ७४ वटै जिल्लालाई परिपत्र गरी ‘सामाजिक सद्भाव र सुसंस्कृत व्यवहार अभिवृद्धि गरौँ’ भन्ने नाराका साथ शुभकामना आदानप्रदान तथा चियापानको कार्यक्रम गर्न सर्कुलर समेत जारी गरि सकेका छन् ।
केन्द्रबाट जिल्लामा पनि चियापानको परम्परा सुरु गरेर कांग्रेसले आफूलाई बदलेको संकेत गरेको शर्माको भनाइछ । उनले हामीले ४१ वर्षसम्म एउटा अभ्यास ग¥यौँ, तर अब कांग्रेस बदलिँदै गएको सन्देश हामीले दिन खोजेको भन्दै चियापानलाई विकेन्द्रित गरिएको बताए ।
यस्ते प्रबक्ता शर्माले कांग्रेस केन्द्रीय समिति बैठक अब दसैँपछि बस्ने बताएका छन । नेविसंघमा ३२ वर्षे उमेर हद लगाएसँगै बढेको विवाद र नेताहरूको व्यस्तता बढेपछि केन्द्रीय समितिको बैठक दसैँपछि बस्न लागेको हो । आन्तरिक विवाद र नेताहरू चाडपर्वको शुभकामना कार्यक्रममा जिल्लातिर लागेपछि केन्द्रीय समिति दसैँपछि मात्र बस्ने उनले बताए ।
केन्द्रीय समिति बैठक बसेर विधान नटुंग्याइदिँदा नेविसंघको १२औँ महाधिवेशन प्रभावित भएको छ । बिहीबार नेविसंघको विधानलाई टुंग्याएर उसलाई महाधिवेशन गर्ने बाटो खोलिदिने तयारी कांग्रेसको थियो । तर, बैठक नै स्थगित भयो । विद्यालय र क्याम्पसमा अधिवेशन नै नभएको र अब छठपछि मात्रै विद्यालय र क्याम्पस खुल्ने भएपछि नेविसंघको महाधिवेशन हुने सम्भावना कमजोर बनेर गएको छ ।
२ मंसिरसम्म नयाँ नेतृत्वका लागि जसरी पनि निर्वाचन गर्नैपर्ने बाध्यता छ । महाधिवेशन हुन नसक्दा टीका लगाएर नेतृत्व चयन गर्ने तयारी पार्टी संस्थापन पक्षको छ ।





प्रतिक्रिया