काठमाडौँ । धनुषाको परवाहाकी १० वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ । शुक्रबार साँझबाट हराएकी उनको शव शनिबार अपराह्न गाउँनजिकैको धानखेतमा भेटिएको छ ।
घरनजिकै लागेको दुर्गा पूजा हेर्न गएकी उनलाई चिनजानकै दुई युवकले फकाएर एकान्तमा लगी बलात्कारपछि हत्या गरेका हुन् । घटनामा संलग्न स्थानीय विनोद मुखिया विन र नथुनी पण्डित कुमहारलाई धनुषा प्रहरीले शनिबारै पक्राउ गरेको छ । एसपी गोविन्द थपलियाका अनुसार खाजा खुवाउने प्रलोभनमा बालिकालाई एकान्त ठाउँमा लगेर बलात्कार र हत्या गरेको उनीहरूले बताएका छन् ।
मेला हेर्न पुगेकी बालिकालाई उनीहरूले खाजा खर्च भन्दै १० रुपैयाँ दिएर एकान्तमा लगेका थिए । अनुसन्धानमा खटिएका डीएसपी दीपेन्द्र शाहीले बालिकालाई एकान्त चौरमा लगेर बलात्कार गरेको र घटना लुकाउन बालिकाको हत्या गरेको जनाए । बलात्कारबारे गाउँ–समाजमा बताइदिने भयले बालिकाको हत्या गरेको उनीहरूले बताएका छन ।
दुई युवकले बालिकालाई एकान्ततिर लगेको गाउँकै अर्की बालिकाले देखेकी थिइन् । तिनैको भनाइका आधारमा प्रहरीले दुई युवकलाई नियन्त्रणमा लिएको हो । बलात्कारपछि उनीहरूले बालिकाको नाक–मुख थुनेर हत्या गरेको प्रहरीले जनाएको छ ।
डीएसपी शाहीका अनुसार हत्यापछि बालिकाको शव चौरनजिकै रहेको धानखेतमा पुरेर उनीहरू घर फर्किएका थिए । बालिका अबेर साँझसम्म पनि मेलाबाट घर नफर्किएपछि परिवारले रातभर खोजतलास गरेको थियो ।
नभेटिएपछि बिहान मात्रै प्रहरीलाई खबर गरेका थिए। माछा मार्दै हिँडेका बालबालिकाले धानखेतमा शव देखेपछि हल्ला गरेका थिए। बालिकाको शव जनकपुर अञ्चल अस्पताल ल्याइएको र आइतबार पोस्टमार्टम हुने अस्पतालका निमित्त प्रमुख डा.कुलदीप पण्डितले बताएका छन ।





प्रतिक्रिया