देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अब प्रदेशकै नामबाट मोटरसाइकलको नम्बर प्लेट

देशान्तर

काठमाडौँ । दसैंअघि नै बन्द भएको बाग्मती अञ्चलको मोटरसाइकल दर्ता खुल्ने भएको छ। मन्त्रिपरिषद्ले प्रदेशको नाममा मोटरसाइकल दर्ता गर्ने निर्णय गरेसँगै नम्बर प्लेटमा अंक थप्ने बाटो खुलेको हो। अब पहिलेजस्तो अञ्चलको आधारमा नभई प्रदेशका आधारमा नम्बर प्लेट दिइनेछ। मन्त्रिपरिषद्ले यो व्यवस्थालाई हेरफेर गर्दै बिहीबार राजपत्रमा सूचना प्रकाशित गरेको छ।

नयाँ व्यवस्थानुसार अगाडि र पछाडि दुवै नम्बर प्लेटको माथिल्लो लाइनको सुरुमा सवारी दर्ता गर्ने कार्यालयको प्रदेश संकेत र त्यसपछि सो प्रदेशभित्रको यातायात व्यवस्था कार्यालयको क्रमसंख्या जनाउने अंक उल्लेख गर्नुपर्नेछ। प्रदेशभित्र रहेका यातायात व्यवस्था कार्यालयको क्रमसंख्या जनाउने अंक यातायात व्यवस्था विभागले तोकेबमोजिम हुनेछ। अगाडिको नम्बर प्लेटको तल्लो लाइनमा सवारी समूह जनाउने अंक, सवारीको किसिम जनाउने संकेत र सवारी दर्ता नम्बर लेख्नुपर्नेछ।

यसैगरी, पछाडिको नम्बर प्लेटको दोस्रो लाइनमा सवारी समूह जनाउने अंक, सवारीको किसिम जनाउने संकेत र तेस्रो लाइनमा सवारीको दर्ता नम्बर लेख्नुपर्नेछ। यस्तो सवारी समूह जनाउने अंक आवश्यकतानुसार ००१ देखि ९९९ सम्म हुनेछ। त्यस्तै, सवारी दर्ता नम्बर बढीमा ४ अंकको (०००१ देखि ९९९९) सम्म हुनेछ।

प्रयोगअनुसार दर्ता नम्बर ४ अंक कटेपछि अर्को समूह संकेतको संख्या दिई त्यसमा पनि ०००१ देखि ९९९९ सम्म दिँदै जानुपर्नेछ।यसअघि बाग्मती अञ्चलमा ९९ लटका सबै नम्बर सकिएको र तीन डिजिटको संकेत अक्षर (लट नम्बर) दिन नियमावली संशोधन गर्नुपर्ने भएकाले नयाँ मोटरसाइकल-स्कुटरको दर्ता रोकिएको थियो। सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ अनुसार साना सवारी (मोटरसाइकल-स्कुटरलगायत दुईपांग्रे) को नम्बर प्लेटमा बढीमा आठ वटासम्मको अंक र अक्षर रहने व्यवस्था थियो। जसमा तल र माथि दुई लाइनमा राख्नुपर्ने व्यवस्था थियो।