देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मेरो स्वास्थ्यबारे भ्रामक प्रचार भोः प्रधानमन्त्री

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल र केही डिजिटल मिडियाबाट आफ्नो स्वास्थ्य अवस्थाका बारेमा आधारहित प्रचार भएकोप्रति आपत्ति जनाएका छन् ।

मंगलबार साँझ अस्पतालबाटै सन्देश सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले अनावश्यक रुपमा सनसनी बनाएर गरिएका प्रचारवाजीबारे आफू जानकार रहेको भन्दै यस्तो बताएका हुन् ।

सामाजिक सञ्जाल तथा केही कुत्सित मनसाय बोकेका डिजिटल मिडियाबाट मेरो स्वास्थ्य अवस्थाका बारेमा गरिएको आधारहिन प्रचार तथा विषयलाई अनावश्यक रुपमा सनसनीपूर्ण बनाएर गरिएको प्रजारबाजीको मलाई जानकारी भन्दै प्रधानमन्त्रीको सन्देशमा भनिएको छ—यसप्रकारका भ्रामक प्रचारबाट प्रभावित नहुन सबैलाई हार्दिक अनुरोधसमेत गर्दछु ।’

सन्देशमा ओलीले आफू अस्पतालबाट चाँडै नै फर्कने र समृद्ध नेपालको सपना साकार पार्न सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘चिकित्सकले मलाई दिनुभएको जानकारी अनुसार म छिट्टै नै अस्पतालबाट फर्किने छु र तपाई हामीले देखेको समृद्ध नेपालको साझा सपना साकार पार्ने कामको नेतृत्वमा सक्रिय हुनेछु’, ओलीले सन्देशमा भनेका छन, ‘विगतमाझैं समग्र देशवासी दिदीबहिनी–दाजुभाइको सहयोग र सद्भाव निरन्तर रहनेमा म विश्वस्त छु ।’

प्रधानमन्त्री ओलीले मुलुकका केही भागमा घटेका घटनाप्रति चासो व्यक्त गर्दै त्यसमा आफू संवेदनशील भएको उल्लेख गरेका छन्।

‘धर्म, संस्कृतिको नाममा होस् वा दलीय बहसको नाममा, आपसी सद्भाव खलबल्याउने प्रकृतिका कुनै पनि दुष्कर्म मान्य हुनै सक्दैन’, ओलीको सन्देशमा भनिएको छ, ‘यस्ता प्रकृतिका कार्यमा संलग्न जोसुकैलाई पनि राज्यको प्रशासन र सुरक्षा निकायले कानुन बमोजिम कार्वाही गर्छ ।’