काठमाडौं । संघीय संसद् सचिवालयले पदाधिकारी र समिति सभापतिलाई महँगा गाडी किन्न सरकारसँग करोडौं रकम मागेको छ । चढिरहेका गाडी पुराना भएको भन्दै उसले अर्थ मन्त्रालयमा बजेट मागको प्रस्ताव पठाएको छ ।
सचिवालयले वार्षिक बजेटभन्दा बाहिरबाट रकम मागी गाडी, मोटरसाइकल र कम्युटर खरिद गर्न लागेको जनाएको छ । नयाँ गाडी राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सेना, उपसभामुख शिवमाया तुम्बाहाम्फे, राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालका लागि किन्न लागेको सचिवालयले जनाएको छ ।
राष्ट्रियसभा अध्यक्ष तिमिल्सेनाका लागि १ करोड ७५ लाख, उपसभामुख र उपाध्यक्षका लागि १ करोड २५ लाख पर्ने २ वटा गाडी खरिदको प्रस्ताव अर्थ मन्त्रालयमा पठाइएको छ । राष्ट्रियसभा अध्यक्षले प्रधानमन्त्री कार्यालयले उपलब्ध गराएको गाडी चढिरहेका छन् ।
प्रतिनिधिसभा, राष्ट्रियसभा र दुवै सदनका संयुक्त समिति सभापति, सत्तापक्ष र विपक्षी दलका नेता, प्रमुख सचेतक र सचेतकका लागि २० वटा स्कारपियो गाडी खरिदको प्रस्ताव सचिवालयले अर्थमा पठाएको छ । प्रतिनिधिसभा समिति सभापतिका लागि ७० लाखका दरले २० वटा गाडी किन्ने सचिवालयको तयारी छ ।
सचिवालयले गाडी खरिदका लागि १७ करोडभन्दा बढी रकम अर्थसँग मागेको छ । पुराना गाडी मर्मत गरेर सचिवालयले पदाधिकारी र समिति सभापतिहरूलाई उपलब्ध गराएको छ । तर गाडी पुराना हुँदै गएकाले नयाँ किन्न अर्थसँग रकम माग गरेको सचिवलयले जनाएको छ ।
पर्याप्त गाडी भएपनि नयाँ र सुविधायुक्त गाडी चाहिने भन्दै समिति सभापतिहरूले दवाव दिएपछि नयाँ खरिदको प्रस्ताव गरिएको सचिवालयका अधिकारीहरू बताउँछन । कर्मचारीका लागि ३० वटा मोटरसाइकल खरिद गर्ने भन्दै सचिवालयले अर्थसँग रकम माग गरेको छ ।
कर्मचारीले विगतमा ८० प्रतिशत प्रोत्साहन भत्ता र दैनिक ६ सय ५० खाजा भत्ता लिइरहेका छन । नयाँ शाखा अधिकृतका लागि मोटरसाइकल किन्न खोजिएको सचिवालयले जनाएको छ । मोटरसाइकल खरिदका लागि झण्डै एक करोड रकम अर्थसँग मागिएको छ ।
सचिवालयले समिति बैठक रेकर्डिङका लागि भन्दै ४३ कम्युटर खरिदको प्रस्ताव पनि अर्थमा पठाएको छ । राष्ट्रिय सभाका समितिमा रेकर्डिङ सिस्टम नभएकाले नयाँ कम्युटर किनेर रेकर्डिङ सिस्टम राम्रो बनाउन खाएिको सचिवलयले जनाएको छ ।
प्रतिनिधिसभाका १०, राष्ट्रियसभाका ४ र संयुक्त सदनका २ गरी १६ जना समिति सभापतिलाई ल्यापटप किन्ने प्रस्ताव पनि सचिवालयले तयार गरेको छ । विगतमा संविधानसभामा पाइरहेको प्रोत्साहन भत्ता निरन्तर हुनुपर्ने भन्दै कर्मचारीले दबाब दिएपछि सचिवालयले प्रोत्साहन भत्ता स्वीकृतिका लागि अर्थमा पठाएको फाइल अझै स्वीकृत भएको छैन ।
अर्थबाट सहमति प्राप्त नभएकाले कर्मचारीको प्रोत्साहन र खाजा भत्ता पनि रोकिएको सचिवालयका अधिकारीहरू बताउँछन् । सचिवालयले फर्निसिङ, सोफा, टेलिभिजन, कम्युटरलगायतका व्यवस्था गरेर समिति सभापतिका कार्यकक्ष तयारीमा करोडौं खर्च गरे पनि कतिपयले चित्त नबुझेको भन्दै गुनासो गरिरहेका छन ।
सभापतिहरूको गुनासो बढ्दै गएपछि सभामुख कृष्णबहादुर महराले मंगलबार समिति सभापतिरुका नयाँ कार्यकक्षको अवलोकन गरेका थिए । सभापतिहरूको कार्यकक्ष बनाउने काम लगभग सकिएको र केही सभापतिका गुनासा सम्बोधन हुने क्रम पनि चलिरहेको सभामुख महराले जनाए ।अन्नपूर्णमा खबर छ ।





प्रतिक्रिया