काठमाडौँ । नेपाली काँग्रेसले दशैँ, तिहार, छठ र नेपाल संवत्को अवसरमा आज जलपाल तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्दैछ । विगत ४१ बर्षदेखि कोजाग्रत पूर्णिमाको दिन पारेर आयोजना गर्दै आएको चियापान काँग्रेस नेता चक्र बास्तोलाको निधनको शोकका कारण केहि दिनपछि गरिएको हो ।
काँग्रेसले चियापानमा करिब १ लाखलाई निम्त्याएको छ । केन्द्रिय कार्यालय सानेपामा दिउँसो १ बजेदेखि ५ बजेसम्म हुने कार्यक्रममा सरकारका मन्त्रीहरु, सत्तारुढ दल र विभिन्न राजनीतिक दलका केन्द्रीय नेताहरु, कुटनीतिक नियोगका प्रमुखहरु, संवैधानिक अंगका प्रमुखहरुलाई निमन्त्रणापत्र पठाइएको छ ।
काँग्रेसले यस वर्षदेखि केन्द्रसहित जिल्ला तहमै जलपान तथा शुभकामना कार्यक्रम आयोजना गर्दैछ । काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाको केन्द्रीय कार्यालयमै भएपछि अन्य ७४ जिल्लाको केन्द्रकै समय तर्थात् दिउँसो १ बजे देखि ५ बजेसम्म जलपान तथा शुभकामना आयोजना गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
मेलमिलापको नीति लिएर वीपी कोइराला नेपाल फर्किएपछि उनले जलपानको शुरुवात गरेका थिए। २०३४ सालदेखि निरन्तर काँग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान गर्दै आएको छ । जसलाई काँग्रेसले अहिलेसम्म निरन्तरता दिएको छ भने अन्य राजनीतिक दलहरुले समेत सिको गरेका छन् ।





प्रतिक्रिया