देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार

देशान्तर

काठमाडौं । आज हिन्दूहरुले तिहारको दोस्रो दिन कुकुर तिहार मनाउँदैछन् । यमपञ्चकको दोस्रो दिन मंगलबार बिहान अरुणोदय कालमा नरक स्नान गरी यम दीप दान गरी यो पर्व मनाईँदैछ ।

कात्तिक कृष्ण चतुर्दशीका दिन बिहान सबेरै उठेर नजिकको नदी, पोखरी वा तलाउ गई नरक स्नान गरी तर्पण गरेर यम दीपबाली दक्षिण फर्काएर बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरके नुहाउने गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताए ।

कात्तिक कृष्ण चतुर्दशीका दिन बिहान नदी, ताल तलाउमा बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ । यसै कारण आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ ।

आजै घर घरमा इमान्दारीपूर्वक सुरक्षामा खटिने कुकुरलाई मीठो खानेकुरा खान दिएर मनाइन्छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सवल नाम गरेका कुकुरले सहजरुपमा बाटो छोडिदिने धार्मिक विश्वास छ ।

कात्तिक कृष्ण चतुर्दशीका दिन कूल परम्पराअनुसार कसैले कुकुरलाई पूजा गरेर मीठो खान दिन्छन् भने कतिपयले मीठो खान दिने गर्छन् । शास्त्रीय रुपमा काग र कुकुरलाई मीठो खान दिने उल्लेख भए पनि पूजा गर्नुपर्ने कुरा नलेखिएको धर्मशास्त्रविद् गौतमले बताए ।

घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने विश्वास समेत छ । वैवस्वत् मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रुपमा समेत स्थापित भएको छ ।