देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रहरीको तिहार सुरक्षा योजना सार्वजनिक

देशान्तर

काठमाडौँ । चाडपर्वको समयमा देशभर हुनसक्ने अपराध न्यूनीकरण गर्न नेपाल प्रहरीले सुरक्षा योजना सार्वजनिक गरेको छ । प्रत्येक जिल्लामा प्रहरीले वस्तुगत अवस्था, सम्भावित अपराधको अध्ययन गरेर सुरक्षा कार्ययोजना तयार पारेको जनाएको छ ।

तिहारको समयमा हुनसक्ने सम्भावित अपराध नियन्त्रण गर्न प्रहरी देशव्यापी रुपमा सक्रिय भएको प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदी बताए । अवैध पटका पड्काउने र जुवातास खेल्ने माथि पनि कारवाही गरिने उनले बताए ।

पटकाको ओसारपोसार रोक्न सीमा क्षेत्रमा चकेजाँचमा कडाइ, बढी आर्थिक कारोबार हुने क्षेत्रमा सादा पोशाकका प्रहरी परिचालन, आपराधिक गतिविधिको सूचना संकलनलगायत कार्य भइरहेको एसएसपी सुवेदीले बताए ।

कुनै घटनाको पूर्वजानकारी भएमा वा शंका लागेमा पनि प्रहरी कार्यालयमा खबर गर्न प्रहरीको आग्रह छ । प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाले तिहारको समयका लागि १४ वटा सुरक्षा विषयमा प्रहरीले कडाई गर्ने जानकारी दिनएका छन ।

तिहारका बेलामा राति १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी परिसरले १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाउने गरी समय तोकेका हुन् ।

त्यसभन्दा बढी समय देउसी भैलो खेलेमा कारबाही गरिने प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए । देउसीभैलो खेल्ने बाहनामा राति आपराधिक गतिविधि पनि हुन सक्ने आशंका गर्दै प्रशासन र प्रहरीले समय निर्धारण गरेका हुन् ।

तिहारमा देउसीभैलो खेल्न राति १० बजेसम्मको समय निर्धारण गरेको र चाडपर्वको मर्यादा कायम राखेर देउसी भैलो खेल्न अनुरोध गरिएको भन्दै आचार्यले आपराधिक बनाउने, हुलदंगा गर्ने, विस्फोटक पदार्थ पड्काउने जस्ता गतिविधि स्वीकार्य नहुने बताए ।