देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

७८ दिनसम्म पत्ता लागेनन् पूर्वराजदूत झाका हत्यारा, दुई ‘हाइप्रोफाइल’ हत्या रहस्यमै

देशान्तर

काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा लापरबाही गरेर विश्वास गुमाएको नेपाल प्रहरी राजधानीमै भएको ‘हाइप्रोफाइल’ हत्या अनुसन्धानमा पनि असफल भएको छ । पूर्वराजदूत केशवराज झाको हत्या भएको ७८ दिन पुग्दा पनि प्रहरीले कुनै रहस्य खोल्न नसकेको छैन ।

४ भदौमा घरमै सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरी झाको हत्या भएको थियो । हत्यालगत्तै प्रहरीले तीन कामदारलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । तर, घटनामा उनीहरूको संलग्नताको कुनै प्रमाण नभेटिएपछि छुटिसकेका छन् ।
पक्राउ परेकामध्ये कान्छाराम तामाङले प्रहरीलाई दिएको बयान झुटो भएको पोलिग्राफ टेस्टमा खुलेको थियो । तर, अन्य प्रमाण प्रहरीले पत्ता लगाउन सकेन । तामाङ झाको घरको सुरक्षागार्ड तथा सहयोगी थिए । हत्या निकै योजनाबद्ध भएकाले अनुसन्धानमा समय लागेको अपराध महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरले बताए । महाशाखाले झा हत्या घटनालाई पहिलो प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेको उनले बताए ।

रहस्यले भरिएको घटना
घटनास्थलको अवस्था हेर्दा झा हत्या निकै रहस्यमय देखिएको प्रहरी अधिकारीहरू बताउँछन् । झा घरभित्रै मृत भेटिएका थिए । हत्या गर्ने व्यक्ति कसरी भित्र छिरे भन्नेमै प्रहरी अधिकारी अहिलेसम्म अन्योलमा छन् । पहिलो तलामा रहेको झ्यालको जाली थोरै मात्र काटिएको र त्यहाँबाट मान्छे छिर्न कठिन हुने प्रहरी अधिकारीहरू बताउँछन् । काटेको जालीबाट हात छिराएर झ्यालको लक खोलेर भित्र छिरेको हुन सक्ने अनुमान पनि छ । तर, उक्त कोठामा झाकी श्रीमती सुत्थिन् । उनलाई थाहा नहुनु पनि रहस्यमय नै छ । उमेर र रोगका कारण कमजोर रहेकी उनको कतिपय कुरा प्रहरीले विश्वाससमेत गरेको छैन ।

जाली खिया लागेकाले पहिले नै काटिएको अनुमान पनि छ । तर, झ्यालमा धुलो देखिएकाले त्यहाँबाट कोही प्रवेश गरेको जस्तो पनि देखिन्छ । प्रहरी अनुसन्धानलाई तोडमोड गराउन पनि झ्यालको जाली काटिएको हुन सक्ने शंकासमेत गरिएको छ । घटना हुँदा घरका अन्य सबै झ्यालढोका बन्द थिए ।

पहिलो तलाको झ्यालबाट छिर्न पनि कम्तीमा २५ फिट लामो भ¥याङ प्रयोग गर्नुपर्छ । तर, भ-याङ प्रयोग गरिएको कुनै संकेत भेटिन्न । आँपको रूखबाट घरको छतमा जान सक्ने अवस्था छ । तर, छतबाट घरभित्र छिर्ने ढोकामा डबल लक थियो ।

हत्यामा झाकै घरको किचेनमा रहेको चक्कु प्रयोग गरिएको थियो । किचेनमा चक्कु राख्ने छुट्टै ड्रयर छ । किचेनमा सो ड्रयर मात्र खोलिएकाले पनि जानकार व्यक्तिले नै हत्या गरेको हुन सक्ने अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बताउँछन् । अर्काेतर्फ छोरा–बुहारी विदेश गएको दोस्रो दिनमा हत्या हुनुले पनि परिचित व्यक्तिको संलग्नताको आधार बलियो छ । हत्या गर्ने व्यक्तिले घरबाट केही लगेका पनि छैनन् । कोहीसँग रिसइबी पनि नदेखिनु र हत्यापछि घरबाट कुनै सामान चोरी पनि नहुनले घटनालाई थप रहस्यमय बनाएको हो ।

एक दशक पुराना दुई ‘हाइप्रोफाइल’हत्या रहस्यमै
घटना १ : १७ असोज ०६६ मा ललितपुरको धोबीघाटमा व्यवसायी दिवाकर चन्द हत्या गरिएको अवस्थामा भेटिएका थिए । घाँटी थिचेर हत्या भएको पोस्टमार्टम रिपोर्ट आएको थियो । घटनाको अनुसन्धान अपराध शाखादेखि सिआइबीसम्मले गरे । तर, घटनाको ९ वर्ष पूरा भइसक्दा पनि अहिलेसम्म रहस्यमै छ । चन्द धनाढ्य थिए । हत्याको केही दिनअघि मात्र करोडौँ मूल्य पर्ने जग्गा बिक्री गरेका थिए । छाउनी क्षेत्रमा घर भए पनि डेरामा बस्ने चन्द प्रायः युवतीहरूलाई डेरामा लैजान्थे । घटनाको पाँच दिनअघि १२ असोजमा पनि मोनिका र सरिता नामका दुई युवतीलाई लगेका थिए । पुल्चोकस्थित एक दोहोरी रेस्टुरेन्टमा मदिरा पिएर आफूहरू चन्दको डेरामा गएको अनुसन्धानमा युवतीले बताएका छन् । उनीहरूलाई पटक–पटक बोलाएर सोधपुछ गरेपछि अनुसन्धान निष्कर्षमा पुग्न सकेन ।

घटना २ : नेपाल प्रहरीका तत्कालीन सइ कुवेर कार्कीको हत्या भएको १२ वर्ष भइसकेको छ । तर, यो घटनाको अनुसन्धान पनि शून्यमै छ । २१ मंसिर ०६३ मा सइ कार्कीको गोठाटारमा खुकुरीले हानेर हत्या भएको थियो । सुतिरहेका उनलाई मध्यराति बरन्डामा बोलाएर आक्रमण गरिएको थियो । कार्की त्यतिवेला कांग्रेस नेता खुमबहादुर खड्काको पिएसओका रूपमा कार्यरत थिए । घटनाअघि उनी श्रीमतीसँगै सुतेका थिए । तर, श्रीमतीले भने आफू मस्त निद्रामा भएका कारण घटनाबारे थाहा नपाएको बताएकी थिइन् । कार्की हत्याको अनुसन्धानमा परिवारबाटै पनि पर्याप्त सहयोग नमिलेको प्रहरी अधिकारीहरू बताउँछन् ।नयाँ पत्रिका