देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

निर्मला प्रकरणमा चारैजनाको डीएनए मिलेन

देशान्तर

काठमाडौं । निर्मला हत्या प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले संकलन गरेको शंकास्पद चार जनाको डीएनए म्याच नभएको कञ्चनपुर प्रहरीले जनाएको छ । कात्तिकको दोस्रो साता कञ्चनपुर प्रहरीले शंकास्पद चारजनाको रगत संकलन गरि विधिविज्ञान प्रयोगशाला पठाएको थियो । शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालयमा डीएनएको गोप्य रिपोर्ट खोलिएको र त्यो म्याच नभएको कञ्चनपुर प्रहरीका डीएसपी कृष्णराज ओझाले बताए ।

चारैजना भीमदत्तनगरपालिका २ र १८ नम्बर वडाका भएको बताइएको छ । प्रहरीले उनीहरुको नामभने गोप्य राखेको थियो । प्रहरीले निर्मला हत्याकाण्डको अनुसन्धानका क्रममा यसअघि नै दिलिपसिंह विष्टसँगै कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट उनका छोरा किरण विष्ट, स्थानीय आयुस विष्ट र चक्र बडुको समेत डीएनए परीक्षण गराएको थियो ।

निर्मलाको शरीरमा भेटिएको ‘भजाइनल स्वाब’ सँग डीएनए ‘म्याच’ गरेको थिएन । तत्कालीन कञ्चनपुर प्रहरीले मुख्य अभियुक्तका रुपमा गत भदौ ४ गते दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो ।

डीएनए नमिल्दा प्रहरीलाई अनुसन्धानमा थप सकस भएको छ । गत साउन १० गते साथी रोशनी वमको घरमा निस्किएकी भीमदत्तनगर–२ कि १३ वर्षीया किशोरी निर्मला पन्त साउन ११ गते मृत अवस्थामा फेला परेकी थिइन् ।

निर्मला हत्याकाण्डको अनुसन्धानमा गम्भीर लापरवाही गरेको भन्दै कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट र वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर बर्खासीमा परेका छन् । प्रहरी प्रधान कार्यालय आफैले प्रहरी अधिकारीको कमजोरीबारे अनुसन्धान गरिरहेको छ ।

प्रहरीले विभिन्न कोणबाट अनुसन्धान जारी राखेपनि हत्यारासम्म पुग्ने गतिलो सुराक पत्ता लगाउन सकेको छैन । धेरै प्रमाणहरु यसअघि नै नष्ट भएकाले अनुसन्धानमा थप जटिलता आएको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरो र कञ्चनपुर प्रहरीका छुट्टाछुट्टै टोलीले घटनाको अनुसन्धान गरिरहेका छन् । तर अनुसन्धानमा स्थानीयको सहयोग नपाएको अनुसन्धान टोलीका अधिकारीले गुनासो गर्दै आएका छन् ।

चारजनाको डीएनए नमिलेपछि प्रहरीले शंकास्पद थप ३ जनाको डीएनए परीक्षणको तयारी गरेको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमकुमार सुवेदीले केन्द्रीय अनुसन्धान ब्यूरो र कञ्चनपुर प्रहरीको टोलीले घटनाको विभिन्न कोणबाट सुक्ष्म अध्ययन गरिरहेको बताए ।

प्रहरीले डीएनए परीक्षणका लागि तयारी गर्नुअघि शंकास्पद व्यक्तिको गतिविधि,पछिल्ला घटनाक्रममा उनीहरुको भूमिका–व्यवहार अध्ययन गरेको थियो । अनुसन्धानमा संग्लन एक अधिकारीका अनुसार निर्मला हत्यामा चिनजानकै व्यक्तिको संग्लनताको सम्भावना बढी छ ।

अनुसन्धानमा क्रममा हालसम्म झण्डै १ हजार मोबाइल–टेलिफोनको ‘कल डिटेल’ अध्ययन गरेको छ । ‘कल डिटेल’ हेर्ने क्रममा झण्डै ३ सय बढीलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमै बोलाइएको थियो । प्रहरीले शंकास्पद १६ जनाको फेसबुक आइडीमाथी पनि अनुसन्धान थालेको छ ।