देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

२१ नक्कली डाक्टर धरौटीमा रिहा,तीन अख्तियारको जिम्मा, चारजना जेल चलान

देशान्तर

काठमाडौं । प्रहरीले पक्राउ गरेका ३६ जना नक्कली प्रमाणपत्रधारी चिकित्सकमध्ये २१ जना छुटेका छन्। तीनजनालाई प्रहरीले अख्तियारमा बुझाएको छ भने धरौटी बुझाउन नसक्दा चारजना जेल चलान भएका छन्। मुद्दा चलाइएकामध्ये सबैलाई अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ। कुनै जिल्लामा प्रहरीको माग दाबी अनुसार नै धरौटी माग भएको छ भने केही जिल्लामा  सामान्य मात्र धरौटी माग भएको छ।  

काठमाडौंमा पक्राउ परेका चारजना नक्कली प्रमाणपत्र भएका चिकित्सक पनि सामान्य धरौटीमै छुटेका छन्। अरुण गुप्ता र गणेश साह एक–एक लाख तथा बुद्धि श्रेष्ठ र विनिता मण्डल ५०–५० हजार रुपैया धरौटीमा छुटेका छन्। उनीहरूमध्ये गुप्ताविरुद्ध ८१ लाखको बिगो दाबी गरी मुद्दा दायर गरिएको थियो। उनीविरुद्ध तीन  बिरामीले उजुरी दिएका छन्।

काठमाडौंमा पक्राउ परेकामध्ये थप दुईजनाविरुद्ध सोमबार मुद्दा दायर भएको छ। अन्य ६ जनाविरुद्ध मंगलबार सिआइबीले मुद्दा दायर गर्ने तयारी गरेको छ। पोखरामा पक्राउ परेका महेश्वर राय यादव र सुनसरीका मनीष अर्याल धरौटी तिर्न नसक्दा जेल चलान भएका छन्। यादवलाई सात लाख र अर्याललाई ३२ लाख २५ हजार धरौटी माग भएको थियो। त्यस्तै, जिल्ला अदालत पर्साले वीरगन्जमा पक्राउ परेका आठजना चिकित्सकसँग धरौटी माग गरेको छ। जसमध्ये ६ जना धरौटी तिरेर छुटेका छन् भने दुईजना थुनामै छन्। वीरगन्जका पन्नालाल पटेल र मोहम्मद रुहुल्ला धरौटी बुझाउन नसक्दा थुनामै रहेको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी राजुबाबु श्रेष्ठले बताए। धरौटी तिर्न नसकेका पटेल र रुहुल्ला जेल जानुपर्ने भएपछि बिरामी भएको नाटक गरेर अस्पतालको आइसियूमा भर्ना भएका छन्।  

पक्राउ परेकामध्ये तीन नक्कली डाक्टरलाई प्रहरीले अख्तियारमा बुझाएको छ। सुनील आचार्य, रजनी अग्रवाल र रामजी यादवलाई अख्तियारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी वसन्त कुँवरले बताए । आचार्य प्रसूति अस्पताल थापाथली,अग्रवाल बिपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्स र यादव जनकपुर अञ्चल अस्पतालमा काम गर्थे।  नयाँ पत्रिका दैनिकमा समाचार छ।
 

]]>