काठमाडौं । काठमाडौं महानगरपालिकाले राजधानीलाई धुलोरहित शहर बनाउने योजनाका साथ अघि बढेको जनाएको छ । यसैक्रममा महानगरपालिकाले विभिन्न कार्यक्रम गर्दै आएको जनाएको छ । राजधानीलाई धुलोरहति बनाउने योजनाअनुसार विभिन्न सरसफाइका कार्यक्रमहरु संचालन गर्दै आएको महानगरले आज पनि रत्नपार्कमा सरसफाइ कार्यक्रम गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गीलगायतले रत्नपार्कमा सरसफाइ गर्नुभएको हो । सरसफाइ कार्यक्रममा सहभागी मन्त्री महासेठले काठमाडौंलाई धुलोरहित शहर बनाउनका लागि आफू विशेष योजनाका साथ अघि बढेको जानकारी दिनुभयो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले काठमाडौंको सडक निर्माण गरेर धूलोमुक्त पार्न आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । तर, त्यसका लागि काठमाडौं महानगरपालिकाले निरन्तर काम गर्नुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो ।
काठमाडौं महानगरपालिकाले अघि बढाएको सफाइ कार्यक्रममा मन्त्री महासेठले कलंकी–नागढुंगा सडक निर्माणमा मौसमको प्रतिकूलताले काममा ढिलाइ भएको बताउनुभयो । सडक निर्माणमा ढिलाइ हुँदा धुँवा धूलो नियन्त्रणमा समस्या आएको र सडक निर्माण सकिएपछि जनताले यसबाट मुक्ति पाउने मन्त्री महासेठको भनाइ छ ।
उहाँले काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्ने काम यसै आर्थिक वर्षभित्र सकिने बताउनुभएको छ । रत्नपार्कबाट शुरु भएको सरसफाइ कार्यक्रम जमल हुँदै चक्रपथमा पुगेर सकिएको छ ।





प्रतिक्रिया