काठमाडौँ . प्रधानमन्त्री केपी ओलीले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीमा ल्याउन सरकार निरन्तर अनुसन्धानमा लागिरहेको बताएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगद्वारा ७० औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा उनले घटनाका दोषी पहिचान गरी छिट्टै कारबाही गर्ने प्रक्रिया अघि बढाइएको बताए । ‘निर्दोष बालिकाको बलात्कारपछि हत्या हुनु अत्यन्तै दुस्खद हो, दोषीको पहिचान ढिलोचाँडो हुन्छ, सरकारले कुनै हालतमा दोषी उम्कन दिने छैन,’ उनले भने ।
आयोगका अध्यक्ष अनुपराज शर्माले निर्मला पन्तको बलात्कारपछि हत्याजस्ता गम्भीर प्रकृतिका घटनाका दोषी पत्ता लगाई छिटोभन्दा छिटो कारबाही गर्न सरकारलाई आग्रह गरे ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला हत्या घटनाको अनुसन्धान साँघुरिँदै गएको दाबी गरेका छन् । राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिले सोमबार बोलाएको बैठकमा उनले अनुसन्धानलाई साँघुरो बनाउँदै लगिएको तर निष्कर्ष कहिले आउँछ भनेर समय तोक्न नसकिने बताए ।
‘हाम्रो सामथ्र्यले सक्ने काम गरिरहेका छौं, अनुसन्धानलाई प्रभावित पार्ने काम नभइदिएको भए सहज हुन्थ्यो,’ उनले भने, ‘यो घटनामा कसैको दबाब छैन । कसैको दबाबले अनुसन्धान प्रभावित हुँदैन । प्रमुखका रूपमा कुनै कमजोरी देखिए संसदमा राखेर मेरो बर्दी खोलिदिए हुन्छ ।’
महानिरीक्षक खनालले घटना अनुसन्धानमा गैरव्यावसायिकता प्रदर्शन गर्ने केही प्रहरी अधिकृतलाई बर्खास्त गरिसकिएको उल्लेख गरे । उनले नियन्त्रणमा लिइएका केही व्यक्तिको नाम हतारमा सार्वजनिक गरिएका कारण अनुसन्धानमा कमजोरी भएको हो कि भन्ने आशंका उब्जिएको दाबी गरे । उनले कुनै कमजोरी हुन नदिई अनुसन्धान जारी राखिने बताए ।
खनालले ९७ दशमलव ५ प्रतिशत घटनाको अनुसन्धान भई दोषीलाई कानुनको दायरमा ल्याइएको र जघन्य अपराधका घटनामा सफलता हात पारेको दाबी गरे । ‘कुनै अप्रिय घटना हुन नदिन प्रहरीले दृढतासाथ सतर्कता र सक्रियता अपनाएको छ,’ उनले भने, ‘महिला र बालबालिकालाई बाहिर निस्कनै गाह्रो छ भन्ने होइन, सहज परिस्थिति छ ।’
समितिका सदस्यहरूले बलात्कारका घटना वृद्धि हुँदा प्रहरी–प्रशासन किन कमजोर भएको हो भन्ने प्रश्न गरेका थिए । महानिरीक्षकको प्रत्युत्तर सुनेपछि समितिको बैठकले पन्तको घटनामा संलग्न दोषीलाई चाँडो सार्वजनिक गरी कानुनी कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको छ ।





प्रतिक्रिया