देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मधेशी दलका नेताहरुले भेटे आदित्यनाथलाई

देशान्तर

काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपाल तथा संघीय समाजवादी फोरम नेपालका नेताहरुले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटघाट गरेका छन् ।

जानकी मन्दिरमा पूजा गरी मुख्यमन्त्री लालबाबु राउतको सरकारी निवास मधेश भवन पुगेका आदित्यनाथसँग राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतो, अध्यक्षममण्डलका सदस्यहरु महन्थ ठाकुर, अनिलकुमार झालगायतले भेटेका हुन् ।

भेटमा नेपालस्थित भारतीय दूतावासका राजदूत मन्जिम्भ पुरी पनि उपस्थित थिए । सीताराम विवाह महोत्सवअन्तर्गत अयोध्याबाट जन्तीमा आएका भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई प्रदेश नं २ सरकारले आज यहाँ सम्मान गरेको छ ।

मधेश भवनमा आयोजित सम्मान समारोहमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई स्वागत गर्दै अभिनन्दन पत्र प्रदान गरेका थिए । मुख्यमन्त्री राउतले अभिनन्दन पत्रमा नेपाल भारतको धार्मिक, सांस्कृतिक विशिष्टता अनुकरणीय रहेको चर्चा गर्दै लोकतन्त्रको सुदृढीकरण अभियानमा सबैको सहयोग र प्रतिबद्धताका लागि आग्रह गरे ।

सो अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेता महन्त ठाकुर, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डल संयोजक राजेन्द्र महतो, सांसद कोमल ओली प्रदेश नं २ सरकारका मन्त्री, प्रदेशसभाका सभामुख सरोजकुमार यादव, नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पूरी र प्रदेशसभा सदस्यको उपस्थिति थियो ।

यसैबीच भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ प्रदेश नं २ को सरकारद्वारा आयोजित भण्डारा (दिवा भोज) मा सरिक भए । मधेश भवनमा आयोजित भण्डारामा ३६ प्रकारको ब्यञ्जन पस्किइएको थियो । ब्यजनमा दाल, भात, कजौरीपालक पुरी, रोटी, गाँजरको हलुवा, पेडा, तीन प्रकारको रसबरी, दही, राजभोग, गुलाब जामुन र तरकारी लगायतका विभिन्न परिकार पस्किइएको थियो ।

सो अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्रीको सम्मानमा सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो । यसअघि उत्तर प्रदेशका मुख्यमन्त्री योगी जानकी मन्दिरमा पूजाअर्चना गरेका थिए । उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई पर्यटनमन्त्री अधिकारी, नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधि, मन्दिरका सहायक महन्त रामरोशन दासले जानकी मन्दिरमा स्वागत गरेका थिए ।