देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पर्व बिदा पुनरावलोकन गर्ने प्रधानमन्त्री ओलीको आश्वासन

देशान्तर

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले कटौती भएका विभिन्न समुदायको पर्व बिदा पुनरावलोकन गर्ने आश्वासन दिएका छन् । तमु ल्होछारको अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा उनले पर्वमा सार्वजनिक बिदा दिनुपर्नेलगायत जायज माग प्रक्रिया मिलाएर पूरा गर्ने बताए ।

उनले तपाईंहरूको भावना र माग बुझेको भन्दै जायज माग पूरा गर्न पहल गर्ने बताए । तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदले गरेको ल्होछार कार्यक्रममा उनले भने, ’मैले यहाँ घोषणा गर्न मिलेन । प्रक्रियाअनुसार तपाईंहरूको जायज माग पूरा हुन्छ ।’

ओलीले प्रक्रिया पूरा गरेर माग सम्बोधन गर्ने आश्वासन दिए । ’मैले यहीं घोषणा गरें भने फेरि मलाई स्वेच्छाचारी भयो भनिहाल्छन, म सबै जातजातिका मानिस नेपाली हौं भन्नेमा विश्वास गर्छु, तपाईंहरूको जायज माग पूरा गर्छु’, उनले भने ।

गुरुङ, मगर, राई, लिम्बू, थारू, तामाङलगायत आदिवासी जनजाति तथा मुस्लिम धर्मावलम्बीको प्रमुख चाडमा दिइँदै आएको सार्वजनिक बिदा कटौती गरी समुदाय विशेषलाई मात्र बिदा दिने गरिएकामा विरोध भइरहेको छ । उनीहरूले पुनःसार्वजनिक बिदा दिन सरकारसँग माग गरेका छन्।

प्रधानमन्त्रीभन्दा अघि स्वागत मन्तव्यका क्रममा छोंज धिं अध्यक्ष रेशम गुरुङले बिदा कटौतीको निर्णय पुनरवलोकन नगरे आन्दोलनमा जाने चेतावनी दिएका थिए ।

‘गण्डकी प्रदेशमा सार्वजनिक बिदा दिइएको छ तर गुरुङहरू गण्डकीमा मात्रै छैनन, प्रधानमन्त्रीकै गृहजिल्ला झापामा पनि छन । हामी टुँडिखेलमा जम्मा भएर पनि खुसीसाथ ल्होछार मनाउन सकेका छैनौं’, उनले भने, ‘बिदा कटौती गर्ने निर्णयले हाम्रो चित्त दुखेको छ।’

गुरुङ समुदायले पुस १५ लाई नयाँ वर्षको रुपमा मनाउँछन् । विभिन्न पेसा र व्यवसाय गरेर काठमाडौंमा बसोबास गर्नेहरुले टुँडिखेलमा जम्मा भएर ल्होछार मनाउँदै आएका छन् ।