देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

किन विभाजित हुन्छन् स्रष्टा ?

देशान्तर

घनेन्द्र ओझा
भनिन्छ, नेपालीहरू मिल्न जान्दैनन् । त्यसो त झगडा र विवाद गर्न पनि जान्दैनन् नेपाली । नपत्याए नेपालीहरूले ‘उत्पातै काम गर्न’ भनेर खोलेका/सुरु गरेका सामाजिक/साहित्यिक/सांगीतिक संघसंस्थालाई हेरे पुग्छ– देश/विदेशमा रहेका ।

हरेक यस्ता संघसंस्थाले अत्यन्तै ‘पवित्र’ उद्देश्य राखेका हुन्छन् । सामाजिक/सामुदायिक सेवा, साहित्यिक–सांस्कृतिक प्रवद्र्धन यस्ता संस्थाका मूल उद्देश्य हुन्छन् । निकै उत्साहका साथ ‘अब चाहिँ केही गरिन्छ/हुन्छ’ भनेझैं गरिन्छ सुरुआतमा । तर जब संस्थाले केही गति लिन थाल्छ, केही कोष जम्मा हुन थाल्छ अथवा जब कोही कसैले उक्त कार्यबाट ‘नाम बिकाउन लाग्यो’ भन्ने अर्कोलाई महसुस हुन्छ, तब सुरु हुन्छ विवाद । अनि त्यसैमा सूक्ष्म रूपले घुस्छ– नेपालीको महारोग राजनीति । अन्य कुरामा मिल्ने/मिलाउने थोरै ठाउँ बाँकी रहला तर राजनीति घुसिसकेपछि भने लगभग सकियो, त्यो संस्था माथि उठ्न कहिल्यै र कसै गरे सक्दैन ।

यस्ता कारणले देशभित्रै र बाहिर संगठित/स्थापित धेरै संघसंस्था कतिपय मृत भइसकेका छन्, इतिहासको गर्भमा बिलाएका छन् भने कति अस्थिपञ्जर लिएर बसेका छन् । आखिर किन हुन्छ यस्तो ? यसमा वास्तवमै हाम्रो ‘नेपाली चरित्र’, ‘नेपाली स्वभाव’ प्रष्ट झल्कन्छ । हो, हामी नेपाली मिल्न पनि जान्दैनौं र झगडा गर्न पनि । मिल्दा सबै कुरा सुम्पिएर मिल्छौं, जहाँ न तेरो, न मेरोको सोच हुन्छ । र, जब केही अगाडि बढ्ने बेला हुन्छ, हामीमा ‘तँ वीर कि म वीर’को भावना पलाउन सुरु हुन्छ । त्यसले नाम/दाम कमाउने भयो, म चिल्लै भन्ने कुण्ठा अप्रत्याशित रूपमा विकसित हुन्छ अनि के गरौँ र कसो गरौँ हुन थाल्छ केहीलाई । यसको अन्तिम परिणाम ‘न उसको, न मेरो’ हुन्छ । ‘पवित्र’ सामाजिक/सामुदायिक/साहित्यिक/सांस्कृतिक उद्देश्य हामीले भुल्छौँ ।

खासगरी नेपाली समाजमा साहित्यिक संघसंस्थाहरूको हविगत यो परिदृश्यसँग निकै नजिक देखिन्छ । टोलटोलमा, घरघरमा जस्तो साहित्यिक समूह/संस्था खुलिरहेका छन् । तर यस्ता संस्था केही समयपछि नै हराउँदै पनि गएका छन् । केही तामझामका साथ एक दुई कार्यक्रम/काम गरेर यस्ता संस्था हराउनुको प्रमुख कारण माथि भनिएकै हुन्– इष्र्या/आडम्बर/लोभ र राजनीति । त्यसमा पनि पछिल्लो समय ‘जुँगाको लडाइँ’ झनै बढी देखिन्छ यस्ता संस्थामा ।

हामीकहाँ खुलेका धेरैजसो साहित्यिक संस्थाको चरित्र अत्यन्तै आग्रही र स्वार्थी छ । स्वार्थी हुनु त ठीकै हो, यदि सामूहिक स्वार्थ छ भने तर आग्रहले चाहिँ न संस्थाको, न त स्रष्टाको नै हित गर्छ । हामीकहाँ केही सीमित व्यक्तिलाई ‘उठाउन’/‘चढाउन’/‘बोक्न’ वा ‘खुइल्याउन’/‘थचार्न’/‘धुलिसात् पार्न’ नियोजित रूपमा यस्ता संस्था खडा गरिन्छन् र ‘उद्देश्य’बमोजिम प्रयोग गरिन्छन् । यस्ता कार्यले नै हो नेपाली स्रष्टाबीच वैमनश्य, रिसराग र द्वन्द्व बढ्नु ।

स्रष्टा भनेका प्राज्ञिक व्यक्तित्व हुन् । स्रष्टाहरूमा बुद्धि, ज्ञान र विवेक तीनवटै कुरा हुनुपर्छ । यीमध्ये कुनै एकको अभावमा स्रष्टा अपूर्ण हुन्छ । उसमा ‘प्रज्ञा’ भन्ने चिज हुँदैन र ऊ ‘प्राज्ञ’को हैसियतमा पुगेको हुँदैन । यसर्थ स्रष्टा सधैँ समाजको पहरेदार, न्यायको पक्षपाती, इमानदार, विवेकी र उदाहरणीय हुनु जरुरी छ । यसो भएमा माथि उल्लेख गरिएका समस्या र उल्झन स्वतः समाधान हुनेछन् ।