काठमाडौँ । म्याग्दी जिल्लाको बेनीबाट चितवनको नारायणगढतर्फ आउँदै गरेको ग १ ख ६१०८ नं को बस पर्वत कुश्मा नगरपालिका–१ मालढुङ्गामा दुर्घटना परी सात जनाको मृत्युु भएको छ ।
३२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । घाइतेमध्ये गम्भीर दुई जनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौँको ग्राण्डी अस्पताल ल्याइएको छ ।
थप तीन जनालाई उपचारका लागि काठमाडौँ पठाउन हेलिकप्टरको व्यवस्था गर्न नेपाली सेनालाई आग्रह गरिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए ।
अन्य घाइतेहरुको धौलागिरि अञ्चल अस्पतालमा उपचार गरी थप उपचारका लागि एम्बुलेन्समार्फत पोखराको मणिपाल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
म्याग्दीको बेनीबाट नारायणघाटका लागि छुटेको ग १ ख ६१०८ नम्बरको बस तीव्र गतिका कारण दुर्घटनामा परेको प्रहरीले जनाएको छ । मध्य पहाडी लोकमार्गमा अहिले सडक स्तरोन्नती भइरहेकाले बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म गाडी गुडाउन रोक लगाइएको छ ।





प्रतिक्रिया