देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

३३ किलो सुन प्रकरण:यूएईबाट सुन पठाउने हरिशरण खड्का पक्राउ

देशान्तर


काठमाडौं । ३३ किलो सुन तस्करी प्रकरणका एक आरोपित यूएईमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा हरि खड्का भन्ने हरिशरण खड्का छन् ।

उनलाई केही दिनअघि यूएईमा प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालय, काठमाडौंले जनाएको छ । खड्कासहित प्रकरणमा संलग्न १२ जनाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोल मा रेड नोटिस जारी भएको थियो ।

काभ्रे घर भएका ४० वर्षीय खड्का एक दशकयता यूएईमै बस्दै आएका थिए । वैदेशिक रोजगारीका लागि गएका उनी पछिल्ला वर्षहरुमा जागिर छाडेर सुन तस्करीमा लागेको अनुसन्धानकर्ताहरु बताउँछन् ।

यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले २१ पुस ०७३ मा बरामद गरेको साढे ३३ किलो सुन प्रकरणमा पनि उनी मुछिएका थिए । नेपालमा रहेका सुन व्यवसायीसँग मिलेर उनले दूबईबाट सुन पठाउने काम गर्दै आएको खुलेको थियो ।

पछिल्ला वर्षहरुमा मोरङ, उर्लाबारीका चुडामणि उप्रेती ‘गोरे’ मार्फत उनले सुन नेपाल भित्र्याउने गरेको उच्च स्तरीय सुन अनुसन्धान समितिले सार्वजनिक गरिसकेको छ ।

प्रकरणमा रेड नोटिस जारी भएका मध्ये रमेश उप्रेती र बेनु श्रेष्ठ यूएईमै पक्राउ परिसकेका छन् भने मोहनकुमार अग्रवाल, गोविन्दप्रसाद तिवारी, टुकबहादुर मगर, भोजराज भण्डारी, रोहित आचार्य, चेतनाथ भण्डारी, कृष्ण बस्नेत, कृष्ण गोपाल अग्रवाल र मोहमद उस्ताम मियाँ अझै फरार छन् ।