देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

फोरजी सञ्चालनमा संसदीय समिति नै बाधकः मन्त्री बास्कोटा

देशान्तर

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले संसदीय समितिहरुले नेपाल टेलिकमको फोरजी सेवा विस्तारको काम अघि बढाउन नदिएको आरोप लगाएका छन् । मन्त्री बास्कोटाले ६ वटाभन्दा बढि संसदीय समितिले फोरजी सेवा सञ्चालन गर्न नदिन तर्साउने, धम्क्याउने, हल्लाउने काम गरिरहेकोे भन्दै आक्रोश पनि व्यक्त गरे ।

उनले नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन गर्न नदिएर कसको सेवा गर्न खोजेको (?) भन्दै संसदीय समितिहरुलाई प्रश्न पनि गरे । फोरजी सेवा विस्तारमा आर्थिक अनियमितता भयो भनेर गलत आरोप लगाइएको दाबी गर्दै मन्त्री बास्कोटाले त्यस्ता गलत खालको प्रचारसामू आफूले घुँडा नटेक्ने चेतावनी दिए ।

उनले नेपाल टेलिकम भित्रकै केही व्यवस्थापक र इन्जिनियरहरुले रातिराति आफ्नो घरको पोल अरुलाई लगाउँदै ‘देश द्रोही’को जस्तो व्यवहार गरेको भन्दै सचेत रहन पनि आग्रह गरे । मन्त्री बास्कोटाले नेपाल टेलिकमका कर्मचारीहरुलाई इमान्दार भएर काम गर्न अनुरोध गरे ।

नेपाल टेलिकमका कर्मचारीहरुलाई जनताको सेवामा समर्पित हुन उनको निर्देशन छ । मुनाफा आर्जनलाई मुख्य लक्ष्य बनाएर अघि बढेको निजी क्षेत्रसँग जनताको सेवाका लागि समर्पित नेपाल टेलिकमको तुलना हुनै नसक्ने उनले बताए ।