काठमाडौं । इन्टरनेटमा रहेका बाल यौनदुव्र्यवहारजन्य सामाग्रीलाई निर्मूल पार्ने उद्देश्यका साथ विकास गरिएको चाईल्ड सेफ्टी पोर्टल www.childsafety.org.np को एक कार्यक्रम विच शुरु गरिएको छ । उत्कृष्ट इन्टरनेटको लागि सँगसँगैको नारा सहित नेपालमा पहिलो पटक विश्व सुरक्षित इन्टरनेट दिवस मनाउने सन्दर्भमा फोरम फर डिजिटल ईक्वालिटी, ईन्टरनेट सोसाईटी नेपाल र सेन्टर फर ल एण्ड टेक्नोलोजीको साझा अभियान अनलाईन चाईल्ड प्रोटेक्सन इनिसियटिभ र बेलायत स्थीत अन्तराष्ट्रिय संस्था ईन्टरनेट वाच फाउन्डेसन संयुक्त पहलको रुपमा उक्त पोर्टलको लन्च गरिएको हो । हरेक फेब्रुअरी ५ तारिखमा मनाइने वल्र्ड सेफर इन्टरनेट डे मनाईन्छ ।
ईन्टरनेटमा उपलब्ध बालहिंसा वा यौन दुव्र्यवहारजन्य तश्वीर वा भिडियो सामाग्री फेला परेमा त्यसको लिंक, तस्विर, भिडियो यस अनलाईन पोर्टलमा पहिचान उल्लेख गरी वा नगरी जो सुकैले पनि उजुरी गर्न सक्नेछन । यसरी प्राप्त उजुरीलाई ईन्टरनेट वाच फाउन्डेशनले विकास गरेको आई डब्लु एफ पोर्टलको टुल्स मार्फत प्राविधिक विश्लेषण गरी विस्तृत रुपमा प्रतिवेदन तयार गर्दछ । यसरी प्राप्त प्रतिवेदनलाई नेपाल प्रहरी लगायत कानुन कार्यन्वयन निकायले थप अनुसन्धान तथा कानुनी कारवाहिको लागि प्रयोग गर्न सक्नेछ । साथै, सम्बन्धित सेवाप्रदायकको सहयोगमा उक्त सामाग्री स्रोत बाटै हटाउन पहलकदमी गर्नेछ । स्थानीय संजाल बाहेक इन्टरनेट वाच फाउण्डेशनले संयोजन गरेको अन्तर्राष्ट्रिय संजालमार्फत उक्त सामग्री हटाउन सक्रिय रुपमा पहल गर्नेछ । उक्त पोर्टलमा दुव्र्यवहारजन्य सामग्रीको उजुरी गर्ने टुल्स लगायत बालबालिकालाई इन्टरनेट प्रयोग गर्ने सम्बन्धमा आवश्यक जानकारीमूलक सामग्री, नीति तथा कानुन लगायत सामग्री समेत उपलब्ध हुनेछ ।
सफ्ट लन्च कार्यक्रममा ईन्टरनेट वाच फाउन्डेशनकी निर्देशक एम्मा डगलसले दूर सहभागीता जनाउदै साइबर स्पेशमा बालबालिको सुरक्षा अत्यन्त संवेदनशील विषय भएको र नेपालमा यसको चुनौतिलाई सम्बोधन गर्न स्थानिय साझेदार संस्थाहरुसँगको अभियानमा इन्टरनेट वाच फाउण्डेशनको साथ रहि रहने प्रतिवद्धता व्यक्त गरिन् । साथै, इन्टरनेट वाच फाउण्डेशनले विकास गरेको आइ डब्लु एफ पोर्टलको प्रयोग सम्बन्धमा शुरु भएको साझेदारीले उल्लेखनीय सफलता प्राप्त गर्नेमा आफू विश्वस्त रहेको बताइन् । चाईल्ड सेफ्टी पोर्टलका साझेदार संस्था मध्येका फोरम फर डिजिटल इक्वालिटिका संस्थापक तथा कार्यकारी निर्देशक बाबुराम अर्यालले चाइल्ड सेफ्टी पोर्टल साईबर स्पेशमा हुने बालदुव्र्यवहार लाई उन्मूलन गर्ने तथा बालबालिकालाई सुरक्षित इन्टरनेट प्रयोगको लागि आवश्यक वातावरण को लागि भूमिका खेल्न पोर्टल संचालन गरिएको बताए । उक्त कार्यक्रममा कार्यकारी निर्देशक अर्यालले पोर्टलको प्रयोग गर्ने तरिका तथा यसको प्रभावकारिताका सम्बन्धमा प्रयोगात्मक प्रस्तुति समेत गरेका थिए । उक्त पोर्टलको माध्यमबाट बालदुव्र्यवहारको घटनामा पिडितलाई प्राविधिक अनुसन्धानमा सहायता, मनोसामाजिक परामर्श, कानुनी परामर्श तथा अदालती सहायता समेत उपलब्ध हुने कार्यकारी निर्देशक अर्यालले जानकारी गराए ।
पोर्टलको सफ्ट लन्च गर्दै प्रमुख अथिति संचार तथा सुचना प्रविधि मन्त्रालयका सहसचिव विरेन्द्रकुमार मिश्रले सूचना प्रविधिको विकाश सँगै आएको जोखिम, खास गरी बालदुव्र्यवहारजन्य सामग्रीलाई हटाउन तथा बालबालिका माथि हुने दुव्र्यवहारहरुलाई न्यूनिकरण गर्नको लागि यस पोर्टल महत्वपूर्ण भएको र यसको दिगो प्रभावकारिताको लागि नेपाल सरकारको साथ र सहयोग हुने बताए । यसैगरी नेपाल दूरसंचार प्राधिकरणका निमित्त अध्यक्ष पुरुषोत्तम खनालले नियामकनिकायको रुपमा मात्रै नभई एक महत्पूर्ण सहयोगी बन्न आफूहरु तयार रहेको बताए । इन्टरनेटमा हुने बालदुव्र्यवहार शून्य सहनशिलताको विषय भएकोले सम्पूर्ण इन्टरनेट सेवाप्रदायकको तर्फबाट त्यसको विरुद्ध हुने कुनै पनि खालको अभियानमा साथ हुने र हाल संचालनमा ल्याइएको चाईल्ड सेफ्टी पोर्टलमार्फत आएका जानकारीहरुलाई कानुनको सीमाभित्र रहेर हटाउन आफूहरु तत्पर रहेको वताउँदै पोर्टलको प्रभावकारितामा सहयोग गर्न आफूहरु प्रतिवद्ध रहेको वताए । त्यसैगरी, नेपाल प्रहरी, साइबर व्यूरोका ज्वाईन्ट डाइरेक्टर नविन्द अर्यालले हाल नेपालमा पनि बाल यौन दुव्र्यवहारको घटनाको उजुरी बढेको पाइएको र चाइल्ड सेफ्टी पोर्टल त्यस्तो घटनामा अनुसन्धान गर्न तथा यस्ता सामग्री इन्टरनेटबाट हटाउन सहायक हुने बताए । साथै, उपलब्ध अन्य समान प्रकृतिका टुल तथा अभियानहरु एकै ठाउँमा आई आवश्यक सहकार्य गरेमा यस्ता कार्यहरुको प्रभावकारिता अझ बढ्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपाने, नेपाल दुरसंचार प्राधिकरणका बरिष्ठ निर्देशक आनन्द राज खनाल, नेशनल चाईल्ड प्रोटेक्शन अलायन्स नेपालका कृष्णचन्द्र आचार्य, संचारिका समुहकी अध्यक्ष नितु पण्डित, अलायन्स अगेन्स्ट टाफिकिड इन वुमन एण्ड चिल्ड्न की सह–अध्यक्ष विनु माया गुरुड लगायतले आ–आफ्नो क्षेत्रबाट यस पोर्टलले लिएको उद्देश्य सफल पार्नको निम्ती आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत प्रकट गरे । कार्यक्रममा पोर्टल विकासमा संचालन मध्येको प्रमुख साझेदार इन्टरनेट सोसाईटीका अध्यक्ष सन्तोष सिग्देलले पोर्टल शुरुवात मात्रै भएको र यसको सफलताकोलागि सम्पूर्ण सरोकारवालाहरुको साथ चाहिने औल्याउँदै कार्यक्रममा सहयोग पुर्याउने सवैलाई धन्यवाद दिएका थिए । कार्यक्रम फोरम फर डिजिटल इक्वालिटिका अध्यक्ष इश्वरीप्रसाद शर्माको सभापतित्वमा सम्पन्न भएको थियो ।





प्रतिक्रिया