देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोजनक भएनः समिति

देशान्तर

काठमाडौँ । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले राष्ट्रिय गौरवका २१ आयोजनाको प्रगति सन्तोषजनक नभएकोमा चिन्ता व्यक्त गरेको छ । समितिको सोमबार बसेको बैठकले ती आयोजनाको काम द्रुत गतिमा अघि बढाउन आवश्यक कदम चाल्न सरकारलाई निर्देशन दिएको छ ।

समितिले राष्ट्रिय गौरवका आयोजना समस्यामा फसेको, वर्षौंसम्म सम्पन्न हुने अवस्थामा नपुगेको बारेमा जिम्मेवार मन्त्रालय र अधिकारीहरूलाई जानकारी माग्ने र राष्ट्रिय गौरवका आयोजनाका समस्या पत्ता लगाई समाधानका लागि सरकारलाई थप निर्देशन दिने निर्णय गरेको छ ।

सदस्यहरूले राष्ट्रिय महत्त्वका आयोजना सम्पन्न हुन लामो समय लाग्दा लागत बढेकोतर्फ सरकार गम्भीर हुनुपर्ने बताएका थिए । बैठकले पहिलो चरणमा समितिका सदस्यलाई आयोजनाको स्थलगत अनुगमन गर्न पठाउने निर्णय गरेको छ । समितिले गौरवका आयोजनाहरूको स्थलगत अध्ययन गर्न सदस्यहरूलाई जिम्मा दिएको छ ।

सदस्यहरू इन्दु कडरियालाई पश्चिम सेती जलविद्युत् आयोजना र रानीजमरा कुलरिया सिँचाइ आयोजना, कोमल वलीलाई सिक्टा सिँचाइ आयोजना र बबई सिँचाइ आयोजना, खिमलाल भट्टराईलाई दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल निजगढ र लुम्बिनी क्षेत्र विकास कोष आयोजना, खेमराज नेपालीलाई मध्यपहाडी लोकमार्ग र कोशी करिडोरको स्थलगत अनुगमन गर्न खटाएको छ ।

त्यसैगरी जीवन बुढालाई कर्णाली करिडोर र भेरी–बबई बहुउद्देश्यीय आयोजना, दीपा गुरुङलाई पोखरा क्षेत्रीय विमानस्थल, धनकुमारी खतिवडालाई पशुपति क्षेत्र विकास आयोजना र माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, प्रकाश पन्थलाई कालीगण्डकी करिडोर खटाइएको छ ।

रमेशप्रसाद यादवलाई हुलाकी लोकमार्ग, राजकुमार कुँवरलाई भैरहवा क्षेत्रीय विमानस्थल, रामचन्द्र राईलाई काठमाडौं तराई द्रुतमार्ग, रामप्रीत पासवानलाई राष्ट्रपति चुरे संरक्षण कार्यक्रम र पूर्वपश्चिम विद्युतीय रेलमार्ग तथा सुरेन्द्रराज पाण्डेलाई मेलम्ची खानेपानी आयोजना र बूढीगण्डकी आयोजनाको स्थलगत अनुमगन गरी प्रतिवेदन पेस गर्न जिम्मा दिइएको छ ।