पोखरा । देशान्तर मिडिया ग्रुपका कार्यकारी अध्यक्ष एवं देशान्तर साप्ताहिकका प्रधानसम्पादक कविर राणालाई नेपाल प्रेस युनियन कास्की शाखाद्वारा स्थापित प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल प्रेस युनियन नवौं अधिवेशन उद्घाटनका क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानसम्पादक राणा र नेपाल प्रेस युनियनका पूर्वसभापति तथा रेडियो नेपालका वरिष्ठ संवाददाता समिरजंग शाहलाई संयुक्त रूपमा उक्त पुरस्कारबाट सम्मान गरे । रु ३५ हजार ५५५ नगदसहितको उक्त पुरस्कार दुई जनालाई संयुक्त रूपमा प्रदान गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले प्रेसमाथि हुने कुनै किसिमका हस्तक्षेप कांग्रेसलाई सह्य नहुने बताए । वर्तमान सरकार प्रेस स्वतन्त्रता माथि आक्रमण गर्न उद्यत् रहेको उल्लेख गर्दै सभापति देउवाले प्रेस स्वतन्त्रता र प्रजातन्त्र एक अर्कामा अन्योन्याश्रित भएको बताए । वर्तमान सरकार हरेक क्षेत्रमा असफल भएको बताउँदै उनले हिजो जथाभावी सपना बाँडेको सरकारले जनअपेक्षाअनुरूप काम गर्न नसकेको जनाए ।

सभापति देउवाले पुरस्कृत व्यक्तित्वहरूलाई बधाई दिँदै पञ्चायतकालदेखि हालसम्म अनवरत रूपमा लोकतन्त्र, जागरिक अधिकार र प्रेस स्वतन्त्रताको पक्षमा आवाज उठाउँदै आएकोमा प्रधान राणाको प्रशंसा गरे । यसैगरी देशान्तर साप्ताहिकले अनवरत रूपमा वाचडगको भूमिका खेलेको भन्दै भविष्यमा सञ्चालन हुन लागेको देशान्तर टेलिभिजनको लागि शुभकामना व्यक्त गरे ।
पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा वरिष्ठ पत्रकार हरिहर विरहीले राणा र शाह दुवैजना पत्रकारिता क्षेत्रमा सम्मान गर्न लायक व्यक्तित्व भएको बताउँदै यसले पुरस्कारको गरिमासमेत वृद्धि भएको जनाए । उनले पत्रकारहरूका लागि फेरि प्रेस स्वतन्त्रताको पक्षमा संघर्ष गर्नुपर्ने संकेतहरू देखा परेकोले त्यसको लागि पत्रकारहरू सचेत हुनुपर्ने आवश्यकता रहेको औंल्याए ।
प्रधानसम्पादक राणाले आफूलाई पुरस्कारको लागि योग्य ठानेकोमा नेपाल प्रेस युनियन कास्की शाखालाई धन्यवाद दिँदै पञ्चायतकालदेखि लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा लड्दै आएकोले देशान्तर मिडियाले भावी दिनमा पनि प्रेस स्वतन्त्रताविरुद्ध कुनै पनि सम्झौता नगर्ने दृढता व्यक्त गरे ।
कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले प्रेस स्वतन्त्रता एवं लोकतन्त्रका विरुद्धमा हुने जुनसुकै क्रियाकलापमा सशक्त कलम चलाउनु पर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले नेपालमा प्रजातन्त्र एवं प्रेस स्वतन्त्रताको आन्दोलनमा प्रेस युनियनले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले संविधानले दिएका अधिकारलाई पनि वर्तमान सरकारले नियन्त्रण गर्न खोजेको आरोप लगाउँदै संविधानको रक्षा र लोकतन्त्रको विकासका पक्षमा कलम चल्नुपर्ने धारणा राखे ।
नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुरस्कार व्यक्तित्व छनोट समितिका संयोजक एवं न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, युनियन कास्कीका उपाध्यक्ष माधव रेग्मी, सचिव प्रकाशचन्द्र सापकोटालगायतले प्रेस स्वतन्त्रताको पक्षमा आ–आफ्ना भनाइ राखे ।





प्रतिक्रिया