काठमाडौं । नेपाल प्रहरीका आईजीपी सवेन्द्र खनालले काठमाडौंको फोहोर र उपराधी दुवै बढार्ने बताएका छन् । काठमाडौं महानगरपालिकाले नेपाल प्रहरीलाई सीसीटिभी जडान र व्यवस्थापनका लागि ३ करोड रुपैयाँ हस्तान्तरण गर्न आयोजना गरेको कार्यक्रममा आईजीपी खनालले यस्तो बताएका हुन् ।
उनले फोहोर सफा गरेरमात्र सहर सफा हुँदैन, सहरमा अपराधी भएसम्म सहर सफा हुँदैन भन्दै काठमाडौं महानगरपालिकाको सहकार्यमा अब यहाँको फोहोर र अपराधी दुवै नियन्त्रण गरिने र नेपाल प्रहरीलाई चुस्तदुरुस्त र प्रविधिमैत्री बनाउँदै लैजाने बताए ।
प्रहरीले देशभर समुदाय–प्रहरी मिलेर काम गरिरहेको उल्लेख गर्दै खनालले काठमाडौं महानगरपालिकाले सीसीटिभी जडान र व्यवस्थापन गर्न दिएको जिम्मेवारीले मेयर, कर्मचारी र नेपाल प्रहरीका सबैलाई ठूलो ऊर्जा मिलेको बताए ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सीसीटिभी जडान र व्यवस्थापनका लागि प्रहरीलाई रकम होइन, जिम्मेवारी हस्तान्तरण गरेको बताए ।
महानगरीय प्रहरी परिसरले जडान र सञ्चालन गर्ने उक्त सीसीटिभीको परिणाम राम्रो आए महानगरपालिकाले आगामी आर्थिक वर्षमा थप ३ करोड रुपैयाँ उपलब्ध गराउने मेयर शाक्यले बताए ।
आईजीपी खनालले व्यापारिक कम्प्लेक्सलगायत विभिन्न संस्थाले जडान गरेको सीसीटिभीमा एकरुपता ल्याउन राष्ट्रिय नीति बनाएर लागु गरिने बताए । व्यक्तिगत गोपनियता कायम राख्न सीसीटीभी जडानमा एकरुपता ल्याइने खनालको भनाइ छ ।





प्रतिक्रिया