देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दुइसय १५ सहसचिवको पदस्थापनः घरपायकलाई पूर्व र पश्चिम

देशान्तर

 काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासन सेवाका २ सय १५ सहसचिवलाई पदस्थापन गरेको छ । समायोजन भएको झन्डै एक महिनापछि मन्त्रालयले उनीहरूलाई पदस्थापन गरेको हो ।

मन्त्रिपरिषद्ले माघ २१ मा उनीहरूलाई संघ (केन्द्र) मा समायोजन गरेको थियो । फागुन १३ को मन्त्रिपरिषद्ले उनीहरूलाई पदस्थापन गर्ने निर्णय गरेको हो । सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव सुरेश अधिकारीले उनीहरूको पदस्थापन पत्र मंगलबारै सम्बन्धित कार्यालयमा पठाइने जानकारी दिए ।

बाटो म्यादबाहेक पत्र पाएको २१ दिनभित्र सम्बन्धित कार्यालयमा हाजिर हुनुपर्ने व्यवस्था छ । मन्त्रालयले संवैधानिक आयोगहरूमा सचिवको जिम्मेवारीसमेत तोकेको छ । सहसचिवहरूमध्येबाटै आयोगमा सचिव बनाइएको हो ।

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव गोपालप्रसाद अर्याललाई सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय, सुदूरपश्चिमको प्रदेशसभा सचिवालयमा रहेका बालाराम शर्मालाई त्यहींको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कर्णालीको प्रदेश प्रमुखको कार्यालयमा रहेका गंगाराम गेलाललाई सोही प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पदस्थापन गरिएको छ ।

लोकसेवा आयोगका तारा भट्टराईलाई ५ नम्बर प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय, ३ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयमा सचिव रहेका दीर्घनारायण पौडेललाई गण्डकीको सामाजिक विकास मन्त्रालय, पर्सामा प्रमुख जिल्ला अधिकारी रहेका लोकनाथ पौड्याललाई ३ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालय र सामाजिक सुरक्षा कोषको सचिवालयमा रहेका श्यामराज अधिकारीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जगेडामा पदस्थापन गरिएको छ ।

१ नम्बर प्रदेशको प्रदेशसभा सचिवालयमा रहेका वासुदेव शर्मालाई समावेशी आयोगको सचिव, गण्डकी प्रदेशको प्रदेशसभा सचिवालयमा रहेका शम्भुबहादुर खडकालाई मुस्लिम आयोग, सनत केसीलाई मधेसी आयोग र आनन्दराम रेग्मीलाई थारू आयोगको सचिवमा पदस्थापन गरिएको छ ।

अर्थ मन्त्रालयका शिवलाल तिवारीलाई ऊर्जा, सतर्कता केन्द्रका रितेशकुमार शाक्यलाई उद्योग, हेटौंडा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज शाहीलाई उद्योग, कर्णाली प्रदेशको आर्थिक मामिला मन्त्रालयमा रहेकी कृष्णकुमारी न्यौपानेलाई सञ्चार र १ नम्बर प्रदेशको आर्थिक मामिला मन्त्रालयमा रहेका प्रल्हाद सापकोटालाई श्रम मन्त्रालयमा पदस्थापन गरिएको छ ।

यसैगरी वीरगन्ज महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेका भीष्म भुसाल, जनकपुर उपमहानगरपालिकाका उमेश ढुंगाना र गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका लालमणि ओझालाई श्रम मन्त्रालयमा पदस्थापन गरिएको छ ।

लगानी बोर्डका उत्तमझक्त वाग्लेलाई संघीय मामिलाको अतिरित्त समूह, व्यावसायिक तथा सीप विकास तालिमका सुमन घिमिरेलाई श्रम, कर्णालीको आन्तरिक मामिला मन्त्रालयमा सचिव रहेका तोयनारायण सुवेदीलाई लोकसेवा, कम्पनी रजिस्ट्रारका भुवनहरि अर्याललाई सतर्कता केन्द्र, उद्योग मन्त्रालयका तोयानारायण ज्ञवालीलाई योजना आयोग, यातायात व्यवस्था विभागका महानिर्देशक लावण्यकुमार ढकाललाई रक्षा मन्त्रालय पठाइएको छ ।

धनगढी उपमहानगरमा प्रमुख प्रशासकीय अधिकृत रहेका चक्रपाणि पाण्डे र भन्सार विभागमा उपमहानिर्देशक रहेका नारायणप्रसाद सापकोटालाई वन तथा वातावरण मन्त्रालय, विराटनगर महानगरपालिकमा प्रमुख प्रशासकीय अधिकृत रहेका कुमार दाहाललाई भौतिक पूर्वाधार मन्त्रालय र काठमाडौं महानगरमा रहेका टोकराज पाण्डेलाई भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा पदस्थापन गरिएको छ ।

सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालयमा सचिव रहेका राजेश्वर ज्ञवालीलाई नेपाल ट्रस्ट कार्यालयमा पदस्थापन गरिएको छ भने सहरी विभागका शिवकुमार कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, वातावरण विभागका झलकराम अधिकारी, ५ नम्बर प्रदेशको आर्थिक मामिला मन्त्रालयमा सचिव रहेका थानेश्वर गौतम र रक्षा मन्त्रालयका तुलसीराम सेढाईंलाई अर्थ मन्त्रालयमा पदस्थापन गरिएको छ ।