काठमाडौँ । विगत लामो समयदेखी सामुदायिक विद्यालयमा अध्यापनरत राहत शिक्षकहरुले सोमवार बेलुका नयाँ बानेश्वरमा शान्तिपूर्ण प्रदर्शन गर्दै गरेको अवस्थामा प्रहरीले हस्तक्षेप गरी अन्धाधुन्द बल गरी महिला शिक्षकहरुलाई दुर्व्यवहार गरेको र प्रहरीको दमनबाट दर्जनौं घाइते भएकोप्रति नेपाली कांग्रेस संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्ती निकाली शान्तिपूर्ण रुपले प्रदर्शन गर्न पाउने नैसर्गिक अधिकार माथि वर्तमान सरकारले अंकुश लगाउने कार्य गरिरहेकोमा विरोध गरेका छन् ।
विज्ञप्तीमा भनिएको छ, ’ यस घटनाले सरकारको निरकुंश चरित्रलाई उदाङगो बनाएको छ ।’ सोमवार भएको अमानविय घटनाप्रति नेपाली कांग्रेस संसदीय दलका तर्फबाट खाँणले घोर निन्दा र भत्सर्ना गरेका छन् ।
विज्ञप्ती मार्फत कांग्रेसले नेपाल सरकारलाई राहत शिक्षकहको माग पुरा गर्न माग गरेको छ । साथै प्रहरीको धरपकडामा घाइते भई अस्ततालमा उपचार गराई रहनु भएका शिक्षक साथीहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत कांग्रेसले गरेको छ ।
नेपाल शिक्षक महासंघ र नेपाल राहत शिक्षक समितिले पनि विज्ञप्ती निकाली सरकारी दमनको घोर भत्सर्ना गरेका छन् ।





प्रतिक्रिया