देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मुस्लिम आयोगका अध्यक्षका उम्मेद्वार अन्सारीमाथि सर्वोच्चमा रिट दायर

देशान्तर

काठमाडौं– मुस्लिम आयोगको अध्यक्षमा सिफारिश भएका समिम मियाँ अन्सारीमाथि सर्वोच्च अदालतमा रिट हालिएको छ । जाली नागरिकता, शैक्षिक प्रमाणपत्र तथा उमेर नमिले पनि सवैधानिक परिषद्को तर्फबाट अन्सारीलाई आयोगको अध्यक्षमा सिफारिश गर्ने बाटो खुलेपछि अब्दुल सलामले सर्वोच्च अदालतमा आज रिट दायर गर्न पुगेका हुन् ।

सार्वजनिक सुनुवाई विशेष समितिमा मियाँको बारेमा उजुरी परेपछि उनी विवादमा तानिएका थिए । उनको नागरिकता र शैक्षिक प्रमाणपत्र जाली रहेको उजुरी परेको थियो । तर समितिले अनुमोदन गरिसक्नुपर्ने मिति गुजारेर मुस्लिम आयोगका अध्यक्षमा समिम मियाँ अन्सारीका लागि नियुक्तिको बाटो खुलेको हो ।

मियाँको नामको बारेमा फागुन २५ गते अन्तिम निर्णय गर्ने समय थियो । तर समितिले त्यो दिन कुनै निर्णय गरेन । परिषद्बाट सिफारिस भएर आएको नाममा समितिले ४५ दिनभित्र टुँगों लगाउनुपर्ने थियो । त्यो अवधिमा टुगों नलगाए परिषदलाई नियुक्तिको अघि बढाउन कुनै समस्या नहुने व्यवस्था रहेको छ । परिषद्ले मियाँको नाम माघ १० गते समितिमा पठाएको थियो ।

अन्सारीको नागरिकता, शैक्षिक योग्यता र राजनीतिक दलका सदस्यता सम्बन्धमा प्रश्न उठेको थियो । सर्वोच्चमा रिट दायर गर्ने अब्दुलले भने उनको नागरिकताको बारेमा छानविन गर्दा उनको उमेर ३८ वर्ष मात्र पुगेको छ जब कि आयोगका अध्यक्षका लागि ४५ वर्ष उमेरको हद तोकेको छ । अदालतमा रिटकर्ता अब्दुल सलामले पनि आयोगको अध्यक्षका लागि उम्मेदवारी दिएका थिए ।