देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

हतारमा गर्न लागिएको सम्मेलनमा विदेशी लगानी आउदैनः नेता जोशी

देशान्तर

काठमाडौं । पूर्व उद्योगमन्त्री तथा नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीले सरकारले लगानी सम्मेलन गर्न हतार गरेको टिप्पणी गरेका छन् । आइतबार पत्रकारहरुमाझ नेता जोशीले आफू उद्योगमन्त्री हुँदा गरेको लगानी सम्मेलनमा गरिएको प्रतिवद्धता भित्र्याउन कसरत गर्नुपर्ने समयमा सरकार आफ्नो रवाफ् प्रदर्शन गर्न लगानी सम्मेलन गर्न हतारिएको बताए ।

स्वदेशी लगानीकर्ताले नै सरकारलाई विश्वास गर्न नसकिरहेको अवस्थामा विदेशी लगानीकर्ता आकर्षित गर्ने सरकारको चाहना अर्थहीन रहेको जोशीका तर्क छ । उनले स्वदेशी लगानीकर्ता आफ्नो लगानीको सुरक्षा अनुभत गर्न नसकिरहेको अवस्थामा व्याजदर निरन्तर बढिरहेको र सेयर बजार करिब ३ सय अंकले उँधो लागेको बताए । यस्तोमा सरकारले हतारमा लगानी सम्मेलन गर्नुमा कुनै औचित्य नभएको उनको भनाइछ ।

उद्योग विभागका अनुसार चालू आर्थिक वर्ष दर्ता भएको उद्योगको संख्यामा गिरावट आएको स्मरण गर्दै जोशीले आन्तरिक लगानीकर्ता तर्सिएको,देशको आर्थिक स्थिति विग्रदै गएको र सरकारले पर्याप्त पूर्वतयारी पनि नगरेको बताए ।

जोशीका अनुसार अर्थतन्त्रको ब्यारोमिटर रहेको पुँजीबजार निरन्तर ओरालिनुले नै नेपाली लगानीकर्ता दुई–तिहाइको सरकारसँग सन्तुष्ट नभएको पुष्टि गर्दछ । उनले प्रश्न गरे, “नेपाली बजार स्वयम् सरकारसँग कुन्फिडेन्ट नहुँदा विदेशी लगानीकर्ताले सरकारलाई विश्वास गर्ने आधार के छ ?”

सरकारले विगतमा गरिएको प्रतिवद्धता खोजी नगरेको, ऐनकानून इमानदार रुपमा कार्यान्वयन नगरिएको तथा राजनैतिक रुपमा प्रतिपक्षीलाई एक्लै छाड्नु सरकारको नालायकीपन तथा असफलता पनि रहेको उनको आरोप छ । अहिलेको लगानी सम्मेलनमा वैदेशिक लगानीभन्दा वैदेशिक सहायता भित्र्याउने किसिमको अघि सारिएको जस्तो देखिएको अनुभव उनले सुनाए ।

“यसरी हेर्दा सरकार उदार हुन खोजेको तर आफ्नै पुरानो सिद्धान्तमा अडिकएर बस्ने खोजेको देखिन्छ,” उनले थपे । शोधनान्तर घाटा पनि उच्च रहेको अवस्था विदेशी लगानीकर्ताले तत्कालका लागि नेपालमा लगानी गर्न आकर्षि हुने कुनै आधार नभएको उनको बुझाइ छ । उनले भने, “लगानीकर्ता प्रतिफल फिर्ता लग्ने कुनै आधार देख्दैनन् ।”

चैत १५ र १६ गते राजधानीमा आयोजना हुन लागेको लगानी सम्मेलन नेपालको इतिहासको तेस्रो सम्मेलन हो । यसअघि सन् २०७३ मा पनि लगानी सम्मेलन आयोजना गरिएको थियो । संविधान निर्माणलगत्तै आयोजना भएको उक्त सम्मेलनमा नेपालमा लगानीको अवसर खुलेको सन्देश प्रवाह गरिएको थियो ।

कांग्रेस नेता जोशी उद्योगमन्त्री रहेको बेला आयोजा गरिएको सम्मेलनमा गरिएको कूल १४ खर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धतामध्ये ४ खर्ब रुपैयाँ नेपाल भित्रिइसकेको छ जसमध्ये अधिकांश जलविद्यूत् क्षेत्रमा छन् ।