काठमाडौँ । गए राति हावाहुरीबाट बारा, पर्सालगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति प्रदेश २ को मन्त्रिपरिषद्ले गहिरो दुःख प्रकट गरेको छ । आज सोमबार बिहानै बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले मृतकका परिवारलाई तीन लाख तत्कालीन राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको छ । उनले हरेक मृतकका नाममा ३ लाखका दरले परिवारलाई आर्थिक सहयोग गरिने बताए ।
आइतबार राति बारा र पर्साका विभिन्न ठाउँमा असिनापानीसँगै आएको हावाहुरीबाट कम्तीमा २७ भन्दा बढीको मृत्यु भएको छ । कलैया, वीरगञ्जलगायतका अस्पतालमा ४०० भन्दा बढी घाइते उपचाररत छन् । सुरक्षाकर्मी र स्थानीय उद्धारकर्मी रातिदेखि अहिलेसम्म उद्धारमा खटिइरहेका छन् ।
प्राकृतिक विपत्तिमा परेर घाइते भएकाको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने र घरबार गुमेकाको वासस्थानका लागि प्रदेश सरकारले पहल गर्ने बैठकले निर्णय गरेको छ । बैठकको निर्णयबारे जानकारी दिँदै मुख्यमन्त्री लालबाबु राउतले भने, ’हामीले प्रत्येक मृतकका नाममा उनीहरुको परिवारलाई तीन लाखका दरले तत्काल राहत दिने भएका छौँ उपचारमा जति खर्च हुन्छ, त्यो प्रदेश सरकारले व्यहोर्ने छ ।’
त्यसैगरी तत्कालका लागि वासस्थानका के गर्न सकिन्छ, त्यो गर्ने र पीडितको पुनर्वासका लागि पहल गर्नेसमेत मुख्यमन्त्री राउतले देशान्तरलाई जानकारी दिए।
मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । घरमाथिको विद्युतको पोल, रुख ढलेर र चल्दै गरेको बस दुर्घटना भएर उनीहरुको मृत्यु भएको सुरक्षा अधिकारीहरुले बताएका छन् ।





प्रतिक्रिया