देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रस्तावित न्यायाधीशविरुद्ध परेका उजुरी आज सार्वजनिक गरिने

देशान्तर

काठमाडौँ । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशविरुद्ध परेका उजुरी आज सार्वजनिक गरिने भएको छ । संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालका अनुसार प्रस्तावित न्यायाधीशविरुद्ध पाँच उजुरी परेका छन् ।

तीन उजुरी व्यक्तिको नाम किटान गरेर दर्ता भएका र अन्य दुई उजुरी सैद्धान्तिक विषयमा केन्द्रित छन् । संसदीय सुनुवाइ समितिले उजुरी सार्वजनिक गर्ने बारेमा छलफल गर्न आज दिउँसो २ बजेका लागि बैठक बोलाएको छ ।

न्यायाधीशसँगै प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित दिनेशकुमार थपलियाविरुद्धका उजुरी पनि आजै सार्वजनिक गर्ने तयारी भएको छ । उजुरी दर्ता गर्ने समय हिजो सकिएको छ । प्रस्तावित न्यायाधीश प्रकाश ढुङ्गानाविरुद्ध दुई र हरिप्रसाद फँुयालविरुद्ध एक उजुरी दर्ता भएको छ । प्रस्तावित न्यायाधीश मनोजकुमार शर्माविरुद्ध कुनै उजुरी परेको छैन ।

चैत १९ गते न्याय परिषद्ले पाँच न्यायाधीश सिफारिस गरेको थियो । सिफारिस गरिएकामध्ये सुष्मलता माथेमा, कुमार रेग्मी र मनोजकुमार शर्माविरुद्ध उजुरी परेका छैनन् । राष्ट्रिय समावेशी आयोगको अब उजुरीकर्तासँग प्रारम्भिक छलफल गर्नेछ ।

उजुरीकर्तासँगको छलफलपछि सम्बन्धित पदाधिकारीलाई सुनुवाइका लागि समितिले बोलाउनेछ । समितिले सुनुवाइ सुरु भएको ४५ दिनभित्र सुनुवाई गरी निर्णय हुन नसकेमा नियुक्तिका लागि स्वतः योग्य हुने व्यवस्था छ ।