विराटनगर । प्रदेश–१ को राजधानी तोक्ने र संरचना छर्ने नेकपाको निर्णयविरुद्ध विराटनगरमा आन्दोलन सुरु भएको छ । सोमबार बिहानैदेखि विराटनगर बजार ठप्प छ । सार्वजनिक यातायातका साधन चलेका छैनन् । बन्दकर्ताले सडकमा टायर तेर्साएर यातायात चल्न दिएका छैनन् । शैक्षिक संस्थासमेत बन्द छन् ।
विराटनगरका राजनीतिक दल तथा व्यावसायिक संघसंगठनले संयुक्त रुपमा संघर्ष घोषणा गरी हड्तालमा उत्रिएका हुन् । अनिश्चितकालीन बन्दसहितको संघर्षका कार्यक्रम आह्वान गरिएको राष्ट्रिय जनता पार्टीका मोरङको अध्यक्षमण्डलका सदस्य मोहम्मद कादिरले बताएका छन् । उनले संचरना छरेर ल्याउन लागिएको राजधानी आफुहरुलाई स्वीकार्य नहुने भन्दै कार्यपालिका र व्यवस्थापिकाका संरचन अन्यत्र छर्न नहुने बताए ।
दल तथा पेशाकर्मीहरु संघर्षमा उत्रिएपछि विराटनगरको जनजीवन प्रभावित बनेको छ । नेकपाले विराटनगरलाई प्रदेश स्थायी राजधानी तोक्दै कार्यपालिका तथा व्यवस्थापिकाका संरचना वृहत् विराट क्षेत्र विकासअन्तर्गतका इटहरी र सुन्दरहरैचामा लैजाने निर्णय गरेसँगै आन्दोलन शुरु गरिएको हो । वृहत विराट क्षेत्रअन्तर्गतको साटो संरचनाहरु विराटनगरमै राखिनुपर्ने माग जनस्तरबाट समेत उठेको छ ।
प्रदेशका संरचनाहरु इटहरी र सुन्दरहरैचामा राख्न नहुने र वृहत् विराट क्षेत्र विकासको अवधारणा भनेपनि राजधानीका संरचना छर्न ल्याएजस्तो देखिएको कांग्रेस प्रमुख सचेतक केदार कार्कीले बताए । उनले वृहत क्षेत्रमा राजधानी हामीलाई स्वीकार्य छैन भन्दै सदनमा समेत कांग्रेसले विरोध गर्ने बताए ।
प्रदेशसभामा नेकपा र कांग्रेसका सांसदले धनकुटा तथा विराटनगर राजधानी तोक्न आइतबार चारवटा प्रस्ताव दर्ता गराएका थिए । कांग्रेस, संघीय समाजवादी फोरम, राजपादेखि उद्योगी, व्यवसायी र नेकपा विराटनगरसमेत संघर्षमा उत्रिएका छन् । दर्ता भएका प्रस्ताव आज सोमबार नै प्रदेशसभामा पेश हुने कार्यक्रम राखिएको छ ।





प्रतिक्रिया