काठमाडौँ । अमेरिकारले नेपालमा १३ देशको संयुक्त सैन्य अभ्यास सञ्चालन गर्ने भनेको भोली पल्टै चीनले पनि नेपालमा संयुक्त सैन्य अध्यास गर्ने भएको छ । नेपाली सेनाका अनुसार विपतका बेला गर्ने उद्धारसम्बन्धी संयुक्त तालिमका लागि अमेरिकी सैन्य नेतृत्व केही दिनमा नेपाल आउँदै छ ।
तालिममा अमेरिकाका अतिरिक्त बेलायत, क्यानडा, थाइल्यान्ड, जापान, मंगोलिया, मालदिभ्स, भारत, श्रीलंका, बंगलादेश, इजरायल, चीन र पाकिस्तान सहभागि हुने सेनाले जनाएको छ । तालिममा हरेक देशबाट एक सैनिक अधिकारी र एक गैरसैनिक अधिकारी सहभागी हुँदै छन् । तालिम जेठ ५ गतेदेखि पोखरामा हुने नेपाली सेनाले जनाएको छ ।
यसपछि नेपाल र चीनबीच तेस्रो पटक प्रतिआतंकवाद केन्द्रित सैन्य अभ्यास हुने भएको छ । ‘सगरमाथा फ्रेन्डसिप’ नाम दिइएको नियमित अभ्यास नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाले आगामी भदौमा नेपालमा गर्नेछन् ।
सैन्य अभ्यास गर्ने ठाउँ भने तय भइसकेको छैन । दुई देशबीचको संयुक्त सैन्य अभ्यास प्रतिआतंकवाद युद्धकलामै केन्द्रित हुने भएपछि नेपालमा चिनियाँ प्रभावबारे बहस सुरु भएको छ । गत वर्ष असोजमा चीनको छेन्दुमा र २०७४ वैशाखमा काठमाडौंमा यस्तै अभ्यास भएको थियो।
दुवै मुलुकका सैनिक अधिकारीहरू संयुक्त सैन्य अभ्यासको तयारीमा जुटेका छन् । सैनिक प्रवक्ता एवं सहायक रथी विज्ञानदेव पाण्डेले नेपाली र चिनियाँ जनमुक्ति सेनाबीचको सैन्य अभ्यास भदौमा गर्न लागिएको बताए ।
संयुक्त सैन्य अभ्यासका लागि चिनियाँ दूतावासका अधिकारी, रक्षा मन्त्रालय र सेनाका वरिष्ठ अधिकारीबीच छलफल भइरहेको छ । दुवै पक्ष सैन्य अभ्यासको मिति, स्थान र रूपरेखा टुंगो लगाउन सक्रिय छन्। आतंकवादबाट उत्पन्न हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई दृष्टिगत गरी दुवै देशका विशेष सेनाले संयुक्त सैन्य अभ्यास गर्नेछन ।
एसियाली मुलुक दिनप्रतिदिन आतंकवादीको निसानामा पर्दै गएको अवस्थामा यो अभ्यास उपयोगी रहने ठहर दुवैतर्फका सेनाको छ । आतंकवादीले एसियाली मुलुकमा आफ्ना गतिविधि बढाइरहेका छन्। सन् २०१६ मा बंगलादेशमा र केही साताअघि श्रीलंकामा भएको आतंकवादी आक्रमणपछि एसियाली मुलुक थप सशंकित भएका छन ।
आतंकवादको सम्भावित चुनौतीलाई ध्यानमा राखेर एसियाली मुलुकका सैनिक संगठनसमेत द्विपक्षीय र बहुपक्षीय सैन्य अभ्यास गर्दै आएका छन । नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच हुँदै आएको सैन्य अभ्यासलाई भारत, अमेरिकालगायत मुलुकले महत्वका साथ हेरिरहेका छन्। यस्तो अभ्यासले उनीहरूलाई झस्काउने गरेको छ । नेपाली सेनाले चीनसँग मात्र होइन भारत, अमेरिका, बंगलादेश, पाकिस्तानसँग सैन्य अभ्यास गर्दै आएको छ ।
सेनाले सैन्य कूटनीतिका माध्यमबाट मित्रराष्ट्रका सैनिक संगठनसँग द्विपक्षीय सम्बन्ध प्रगाढ बनाउन संयुक्त सैन्य अभ्यास गरेको बताउँदै आएको छ । नेपाली र अमेरिकी सेनाबीच ‘ब्यालेन्स नेल’ लगायतका अभ्यास र संयुक्त तालिम भइरहेका छन । नेपाली र भारतीय सैनिकको संयुक्त सैन्य अभ्यास ‘एक्सरसाइज सूर्य्किरण’ प्रत्येक वर्ष पालैपालो हुँदै आएको छ ।
नेपाल र चीनबीच विगतमा भएका संयुक्त सैन्य अभ्यासबारे जापान, कोरिया, भारत, अमेरिका र विभिन्न युरोपेली मुलुकले असहजता प्रकट गरेका थिए । नेपाली सेनाले भने चीनसँगको संयुक्त सैन्य अभ्यास नियमित र सामान्य भएको टिप्पणी गर्दै आएको छ ।





प्रतिक्रिया