पति एसिड प्रहार गर्दा गम्भीर घाइते भएकी युवतीको अवस्था अहिले स्थिर रहेको उपचारमा संलग्न डाक्टरले बताएका छन् ।
काठमाडौँको कालोपुल बस्दै आएकी २० वर्षकी युवतीलाई उनका पतिले बुधबार राति ८ बजेतिर एसिड प्रहार गरेका थिए ।
एसिड आक्रमणबाट गम्भीर घाइते भएकी युवतीलाई राति नै उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको थियो । सुरुमा आइसियुमा राखेर उपचार गरिएमा अहिले वार्डमा सारिएको अस्पतालले जनाएको छ । तत्कालका लागि खतराको अवस्था नदेखिएको उपचारमा संलग्न डा। अनुज राजकर्णिकारले जानकारी दिएका छन् ।
डा। राजकर्णिकारले भने, ‘बिरामीले बताए अनुसार श्रीमानले एसिड प्रहार गरेको भन्नु भएको छ । उहाँका दुवै हात, छातीको अगाडिको भाग, घाँटीको भाग र अनुहारको तल्लो भागमा गम्भीर असर परेको छ ।’
डा। राजकर्णिकारले भने, ‘हामीले उपचार गरिरहेका छौँ । अहिले अवस्था स्थिर छ । तर यकिन अवस्था थाहा पाउनका लागि ४८ देखि ७२ घण्टा कुर्नै पर्छ । कुन केमिकल प्रयोग गरेर आक्रमण भएको हो भन्ने थाहा नहुँदा उपचारमा समस्या भएको छ ।’
विशेष गरि एसिड आक्रमणमा पोलेको घाउको गहिराई अनुसार जोखिमको आँकलन गर्न सकिने डा। राजकर्णिकारले बताए । त्यसका लागि प्रयोग भएको केमिकलको जानकारी भएमा त्यसले गर्न सक्ने असरको अनुमान लगाएर उपचार अघि बढाउन सहज हुने उनले बताए ।
तर उपचाररत युवतीको हकमा कुन केमिकल प्रहार भएको हो भन्ने थाहा भएको छैन । आफूहरुले निगरानी गरिरहेको र घाउको अवस्था कस्तो हुन्छ त्यो हेरेर मात्रै अघिको अवस्था वा खतराबारे बताउन सकिने डा। राजकर्णिकारले बताएका छन् ।
ती युवतीमाथि बनेपा बस्दै आएका उनका पति विष्णु भुजेलले बुधबार बेलुका एसिड आक्रमणा गरेको प्रहरीले जानकारी दिएको छ ।





प्रतिक्रिया