देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मोदीको शपथ ग्रहणको निम्तोले प्रधानमन्त्री ओलीलाई पार्यो समस्या

देशान्तर

काठमाडौं । जेठ १५ गते गणतन्त्र दिवस र १६ गते अहिले सम्मका सवै सांसदहरुलाई सम्मान गर्ने कार्यक्रम तय भएपछि प्रधानमन्त्री ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदिको सपथ ग्रहणको निम्ता मान्न जाने समय अभाव भएको छ ।

१६ गते विहिवार साँझ मोदीको सपथ ग्रहण कार्यक्रम राखिएको छ । साँझ कार्यक्रम भएकोले दिउसो ३ बजेभित्रमा नेपालका कार्यक्रम सकेर ओली साँझ ६ः४५ मा भारत पुग्नुपेर्न भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने शपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि निम्तो गरेका छन् ।

सो सम्बन्धी निर्णय भारतको विदेश मन्त्रालयका प्रवक्ता रभीस कुमारले ट्विटमार्फत जनाएका छन् । मोदीको शपथ ग्रहण कार्यक्रम भारतको राष्ट्रपति भवनमा आगामी बिहीबार साँझ ७ बजे हुने कार्यक्रम रहेको छ ।

सन् २०१४ मा मोदीले आफ्नो शपथ ग्रहण समारोहमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का सदस्य राष्ट्रका कार्यकारी प्रमुखलाई निम्तो गरेकोमा यसपालि भने बिमस्टेक राष्ट्रका कार्यकारी प्रमुखलाई बोलाएको छ । यस सम्बन्धी निम्तो पठाइसकिएको भारतीय विदेश प्रवक्ताले जनाएका छन् । भारतीय जनता पार्टीले सार्वजनिक गरेको चुनावी घोषणापत्रमा यसपालि सार्कको नाम नलिइ बिमस्टेकको मात्रै नाम लिइएको थियो ।

शपथ ग्रहण समारोहमा सार्कलाई महत्व दिन नखोजिएकोले आगामी दिनमा सार्क सम्मेलन तत्कालै होला भन्ने कुरामा समेत आशंका उत्पन्न भएको छ । बिमस्टेकमा पाकिस्तान सदस्य छैन । त्यसैले पाकिस्तानका प्रधानमन्त्री भने सो कार्यक्रममा जान नपाउने भएका छन् । पाकिस्तानमा हुनुपर्ने सार्कको शिखर सम्मेलनमा भारत उपस्थित हुन नचाहेकोले केही वर्षदेखि शिखर सम्मेलन हुन सकिरहेको छैन । बिमस्टेकमा दक्षिण एशिया र दक्षिण पूर्वी एशियाका ५ मुलुक सदस्य छन् । जसमा बंगलादेश, भारत, म्यान्मार, श्रीलंका, थाइल्याण्ड, नेपाल र भुटान सदस्य छन् ।

सार्क सदस्यमा अफगानिस्तान, बंगलादेश, भुटान, भारत, नेपाल, माल्दिभ्स, पाकिस्तान र श्रीलंका सदस्य छन् । यस्तै शपथग्रहण समारोहमा संघाइ कोअपरेसन अर्गनाइजेसनका अध्यक्ष भएको नाताले किर्गिस्तानका राष्ट्रपतिलाई पनि बोलाइएको छ । यसैगरी यसवर्षको प्रवासी भारतीय दिवसको प्रमुख अतिथी भएको नाताले मोरिससका प्रधानमन्त्रीलाई पनि शपथ ग्रहण कार्यक्रममा निम्तो गरिएको भारतीय विदेश प्रवक्ताले बताएका छन् । मोरिससका प्रधानमन्त्रीलाई सन् २०१४मा पनि निम्तो गरिएको थियो ।

शपथ ग्रहण गरेपछि मोदीले पहिलो विदेश भ्रमण कहाँ गर्लान् भन्ने बारेमा समेत अहिले नयाँ दिल्लीमा चर्चा भइरहेको छ । उनले आफ्नो २०१४ को कार्यकाल शुरु भए लगत्तै दुई पक्षीय भ्रमणको रुपमा भुटानको पहिलो भ्रमण गरेका थिए ।

त्यसपछि उनी नेपाल आएका थिए । अहिले भने दुई पक्षीय भ्रमण पहिलो उनले कहाँ गर्छन् भन्ने खुलेको छैन । तर बहुपक्षीय भ्रमण भने उनले शपथ खाएको दुई साता भित्रै जुन १३ र १४मा संघाइ कोअपरेसन अर्गनाइजेसनको समिटमा भाग लिन किर्गिस्तानको विस्केकको गर्ने भएका छन् ।

त्यसपछि उनी जुन २८ र २९मा जापानको ओशाकामा हुने जी—२० समिटमा भाग लिन त्यसतर्फ जाने भारतीय अनलाइन द वायरले जनाएको छ । संघाइ कोअपरेसनको बैठकमा मोदी र पाकिस्तानका प्रधानमन्त्री इमरान खानबीच संवाद हुन्छ कि हुन्न भनेर चासोका साथ हेरिएको पाइएको छ । जापानमा हुने जी २० समिटको साइडलाइनमा उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्ने बताइएको छ । मोदीको दुई पक्षीय भ्रमणको पहिलो मुलुक कुन बन्छ भन्ने कुराको चाँडै निर्णय हुने जनाइएको छ ।