काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले केहीबेरअघि जारी गरेको सूचनामा अहिले काठमाडौँ आसपासका क्षेत्रहरुमा विकसित हुँदै गरेको प्रणालीका कारण केही स्थानहरुमा मेघगर्जन र हावाहुरीसहित वर्षा गराउने बादल विकसित भैरहेको जनाएको छ । बंगालको खाडीबाट आएको जलवाष्पका कारण यो अवस्था सिर्जना भएको मौसमविद सुवास रिमालले बताए ।
उनले भारतको गुजरातमा आएको वायु भने सोचिएभन्दा कमजोर आएकाले समुद्री किनार आसपासमा केही क्षतिबाहेक खासै असर नदेखिएको र सो वायुको नेपालमा कस्तोे असर पर्न सक्छ भन्ने कुराको आकलन अहिले नै गर्न नसकिने जनाए । काठमाडौंको अवस्था आत्तिइहाल्नुपर्ने नरहेपनि केही बेर बादल बन्ने, केहीबेर वर्षा हुने, हावाहुरी पनि आउन सक्ने जस्तो अवस्था रहेको उनले जनाए ।
महाशाखाले शुक्रबार देशको मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने र पूर्वी भूभागमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली हुने जनाइएको छ । पूर्वी भूभागका केही स्थानहरुमा र मध्य र पश्चिमी भूभागका केही स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाइएको छ । त्यसैगरी शनिबार र आइतबार पनि मुलुकका विभिन्न भागमा बदली रहने जनाइएको छ ।





प्रतिक्रिया