देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाल–भारत जोड्ने झोलुङ्गे पुल चार दिनका लागि बन्द

देशान्तर

काठमाडौं । दार्चुलास्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुल मर्मत सम्भारका लागि भन्दै चार दिन बन्द हुन लागेको छ ।
नेपाल–भारत जोड्ने झोलुङ्गे पुल असार १ गतेदेखि ४ गतेसम्म बन्द गरिन लागेको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारी दिए । भारतीय पक्षले सीमा पुलको मर्मत गर्नेबारे दार्चुला जिल्ला प्रशासनलाई पत्राचार गरेको थियो ।

सोही पत्राचारअनुसार चार दिन पुल बन्द गरिन लागेको हो । नेपाल–भारत जोड्ने खलङ्गास्थितको झोलुङ्गे पुल जीर्ण बन्दै गएकाले मर्मतकार्य सञ्चालन भएको अवधिभर पुल बन्दको व्यवस्था मिलाइदिन उपखण्ड लोक निर्माण विभाग दार्चुलाले अनुरोध गरेको छ ।

यसअघि पनि भारतीय पक्षले गत फागुन ९ गतेदेखि १३ गतेसम्म मर्मतकार्य गर्ने जनाए पनि अन्तमा भारतीय पक्षले मर्मतकार्य भने गरेको थिएन ।
विसं २०२८ तिर निर्माण गरिएको उक्त झोलुङ्गे पुलको प्लेट जीर्ण बन्दै गएकाले फेर्नेलगायतका मर्मतकार्य गरिने बताइएको छ ।

भारतीय पक्षद्वारा निर्माण गरिएको उक्त झोलुङ्गे पुलको हरेक तीन वर्षमा मर्मतकार्य गरिँदै आएको छ । सोहीअनुसार भारतीय पक्षले नेपाल–भारत जोड्ने झोलुङ्गे पुलको मर्मत गर्न लागेको हो ।भारतीय बजारमा निर्भर स्थानीय नेपाली झोलुङ्गे पुल बन्द हुँदा समस्यामा पर्ने गर्छन् ।